सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिएर भए पनि गठबन्धन जोगाउने दलहरूको तयारी

  कल्पना उपाध्याय  82 पटक हेरिएको

सत्ता गठबन्धनले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत समाजवादी पार्टीलाई दिएर भए पनि गठबन्धन जोगाउने तयारी थालेको छ । मुख्यमन्त्री आफ्नो दलले नपाएपछि एकीकृत समाजवादीले कांग्रेससँग मिलेर नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा सघाएको छ ।

एमाले र माओवादीले भने नागरिक उन्मुक्तिकै कैलाश चौधरीलाई समर्थन गरेका छन् । तर एकीकृत समाजवादीविना सुदूरपश्चिममा सरकार बन्न नसक्ने, अरू प्रदेशमा पनि गठबन्धनका सरकार ढल्न सक्ने र सङ्घीय सरकारलाई समेत असर पर्ने भएकाले गठबन्धनका दलहरूले मध्यमार्गी बाटो खोज्ने भएका हुन् ।

आज बिहान एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने विषयमा लचकता देखाउनुभएको छ । मुख्यमन्त्रीमा नयाँ समझदारी भएपछि यसअघि एकीकृत समाजवादीले केन्द्रीय सत्ता गठबन्धनसँग गरेको विद्रोहबाट पछाडि फर्किनेछ ।

यसअघि प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन नसकिने बताएपछि एकीकृत समाजवादीले कांग्रेससँग गठबन्धन गरेको थियो ।

एकीकृत समाजवादीलाई केही समयका लागि मुख्यमन्त्री दिएर अहिलेको सङ्कट टार्न नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि सकारात्मक हुनुभएको छ । तर नागरिक उन्मुक्तिका सात जनामध्ये धेरैजसो सांसद रेशम चौधरी गुटमा रहेका छन् । मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिकै दुई जनाको दाबी पेस भएपछि प्रदेश प्रमुख निजर मियाँले कानुनी परामर्श गरिरहनुभएको छ ।

५३ सदस्यीय सुदूरपश्चिममा बहुमतका लागि २७ जना सांसदको आवश्यक पर्छ । सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका सात र एकीकृत समाजवादीका ४ जना सांसद छन् । त्यस्तै राप्रपाका एक जना र एक जना स्वतन्त्र सांसद छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार