बझाङ उपचुनाव : सबै मतपेटिका संकलन, सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी

  कल्पना उपाध्याय  240 पटक हेरिएको

बझाङ : बझाङ क्षेत्र नम्बर १ मा हिजो भएको प्रदेश सभा (क) उपनिर्वाचनको सबै मतपेटिका संकलन भएको छ । शनिबार साँझ देखि नै मतगणना स्थलमा मतपेटिका ढुवानी गर्न सुरु गरिएको भएपनि साइपाल गाउँपालिकाबाट आइतबार बिहान मात्रै मतपेटिका सदरमुकाम ल्याइएको छ ।

भौगोलिक रुपमा विकट एवं सदरमुकाम चैनपुरबाट टाढाको दुरीमा रहेको साइपाल गाउँपालिकाबाट नेपाली सेनाको हेलिकप्टरबाट आज आइतबार बिहान मतपेटिका सदरमुकाम ल्याइएको बझाङका प्रहरी प्रमुख डिएसपी भरत शाहले बताउनुभयो । अब केहीबेरमा सर्वदलीय बैठक बस्ने तयारी भइरहेको डिएसपी शाहको भनाइ छ । सर्वदलीय बैठक पछि मात्रै मत गन्न सुरु हुनेछ ।

कुल ६१ हजार ७४८ मतदाता रहेको क्षेत्र नम्बर १ का ७४ मतदानस्थल र ९३ मतदान केन्द्रमा हिजो शनिबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको थियोे । उपचुनावमा ३० हजार ३ सय २८ जना सहभागी भएकोमा ४९.१२ प्रतिशत मत खसेको थियोे ।

यसअघि नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा ज्यान गएपछि यहाँ उपचुनाव भएको हो । यहाँ विभिन्न दलका ११ जना उम्मेदवार छन्। यहाँ एमालेबाट दमन बहादुर भण्डारी, कांग्रेसबाट अभिषेक बहादुर सिंह, माओवादी केन्द्रबाट जनक बहादुर बुढा, राप्रपाबाट किशोर कुमार खड्का, एकीकृत समाजवादीबाट दिल बहादुर सिंह, नेमकिपाबाट खगेन्द्र बहादुर शाही, जनमत पार्टीबाट शुशिला देवी विष्ट, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपक बहादुर खड्का, जनता समाजवादी पार्टीबाट राम बहादुर खड्का, नेसनल रिपब्लिकन नेपालबाट कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापा उम्मेदवार छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार