बझाङ : उपचुनाव भइरहेको बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा अहिलेसम्म ४६ प्रतिशत मत खसेको छ । बिहान ११ बजेसम्म १५ प्रतिशत मात्रै मतदान भएकोमा दिउँसो ४ बजेसम्म ४६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख मान बहादुर धामिले बताउनुभयो । उहाँका अनुसार जिल्लामा २८ हजार ५ सय ८ मत खसेको छ ।
बिहान मतदाताको संख्या न्यून रहेकोमा दिउँसो भएपछि मतदान गर्नेको सङ्ख्या बढेको हो ।
जिल्लाका ७४ वटै मतदानस्थल र ९३ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ । बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा ६१ हजार ७४८ मतदाता छन् । ७४ वटै मतदानस्थल र ९३ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ ।
यसअघि नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनामा ज्यान गएपछि त्यहाँ उपचुनाव भइरहेको हो । बिहान ७ बजेदेखि शुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ ।
यहाँ विभिन्न दलका ११ जना उम्मेदवार छन्। यहाँ एमालेबाट दमन बहादुर भण्डारी, कांग्रेसबाट अभिषेक बहादुर सिंह, माओवादी केन्द्रबाट जनक बहादुर बुढा, राप्रपाबाट किशोर कुमार खड्का, एकीकृत समाजवादीबाट दिल बहादुर सिंह, नेमकिपाबाट खगेन्द्र बहादुर शाही, जनमत पार्टीबाट शुशिला देवी विष्ट, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपक बहादुर खड्का, जनता समाजवादी पार्टीबाट राम बहादुर खड्का, नेसनल रिपब्लिकन नेपालबाट कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापा उम्मेदवार छन्।