६१ हजार बढी मतदाता रहेको बझाङ क्षेत्र नम्बर १ मा ३० हजार ३ सय २८ जनाले गरे मतदान, मतगणना भोली हुने

  कल्पना उपाध्याय  174 पटक हेरिएको

बझाङ – बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा आज भएको उपचुनावमा ४९ प्रतिशत मत खसेको छ । शनिबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म चलेको मतदानमा ४९.१२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ ।

बझाङ क्षेत्र नम्बर १ मा कुल ६१ हजार ७४८ मतदाता रहेकोमा ३० हजार ३ सय २८ जनाले मात्रै मतदान गरेका छन् । बिहान मतदाताको संख्या न्यून रहेकोमा दिउँसो भएपछि मतदान गर्नेको सङ्ख्या केहि बढेको थियो । फेरि साँझ पख मौसम प्रतिकुल बन्दा सो संख्या घटेको हो । जिल्लाका ७४ वटै मतदानस्थल र ९३ मतदान केन्द्रमा मतदान भने शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

यहाँ मतगणना भोली आइतबार बिहानबाट सुरु हुने भएको छ । अहिले जिल्लाका सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बझाङ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का मतपेटिका मतगणना स्थल जिल्ला अदालत चैनपुरमा आइतबार बिहान १०ः०० बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ । जिल्लाको साइपाल गाउँपालिकाको ३ स्थानका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट जिल्ला सदरमुकामसम्म ल्याउने व्यवस्था गरिएको छ । मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि लगत्तै प्रदेश सभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगबाट भएको निर्देशन बमोजिम मतगणना प्रारम्भ गरिनेछ ।

यसअघि नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा ज्यान गएपछि यहाँ उपचुनाव भएको हो । यहाँ विभिन्न दलका ११ जना उम्मेदवार छन्। यहाँ एमालेबाट दमन बहादुर भण्डारी, कांग्रेसबाट अभिषेक बहादुर सिंह, माओवादी केन्द्रबाट जनक बहादुर बुढा, राप्रपाबाट किशोर कुमार खड्का, एकीकृत समाजवादीबाट दिल बहादुर सिंह, नेमकिपाबाट खगेन्द्र बहादुर शाही, जनमत पार्टीबाट शुशिला देवी विष्ट, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपक बहादुर खड्का, जनता समाजवादी पार्टीबाट राम बहादुर खड्का, नेसनल रिपब्लिकन नेपालबाट कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापा उम्मेदवार छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार