बझाङ उपनिर्वाचन अपडेट : एमालेलाई उछिन्दै कांग्रेस उम्मेदवार सिंहको अग्रता

  कल्पना उपाध्याय  265 पटक हेरिएको

बझाङ – बझाङ क्षेत्र नम्बर १ (क) मा शनिबार सम्पन्न भएको प्रदेश सभा उपनिर्वाचन अन्तर्गत अहिले मतगणना कार्य जारी रहेको छ । अहिलेसम्म थलारा गाउँपालिका–९, छविसपाथिभेरा, खप्तडछान्ना, सुर्मा गाउँपालिका सहित जयपृथ्वी नगरपालिकाको मतगणना सम्पन्न भएको छ । प्राप्त परिणाम अनुसार नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता बनाएको छ ।

मतगणनाको सुरुवाती चरणमा अग्रता बनाएको एमालेलाई रातीदेखि कांग्रेसले पछि पारिरहेको छ । नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ७ हजार ४९२ मत ल्याएर शीर्ष स्थानमा छन् । उनलाई एमालेका दमनबहादुर भण्डारीले ७ हजार २२८ मत ल्याउँदै पछ्याइरहेका छन् । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले २ हजार ८९५ मत ल्याएका छन् ।

नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत ल्याएका छन् । यहाँ २० हजारभन्दा बढी मत गनिसकिएको छ। अब १० हजार मत गन्न बाँकी छ । तल्कोट, साइपाल र मष्टा गाउँपालिकामा मात्रै मतगणना गर्न बाँकी छ। मष्टाको मतगणना सुरू भएको छ। यहाँ शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका थिए।

२०७९ मा भएको निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार ११२ मत ल्याएर जितेका थिए। यहाँ एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए।त्यस बेला यहाँ तत्कालीन सत्ता गठबन्धनबाट कांग्रेसका सिंह साझा उम्मेदवार थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार