काठमाडौं शहर एघार दिनदेखि विश्वकै प्रदूषित नम्बर एक

  खप्तड समाचारदाता  258 पटक हेरिएको

काठमाडौँ । लगातार ११ दिनदेखि काठमाडौं शहर विश्वकै प्रदूषित शहर बनिरहेको छ । आईक्यूएयरडटकम का अनुसार काठमाडौं लगातार दुई सातादेखि विश्वको नम्बर एक प्रदूषित शहर बनेको हो ।

यसको असर काठमाडौं उपत्यकामात्र होइन पोखरा, हेटौंडा लगायतका मोफसलका शहरहरुमा पनि परेको छ ।

पश्चिमी न्यूनचापीय मौसमका कारणले पनि प्रदूषण बढेको छ । बिहीबार बिहान १०ः३५ बजे काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २२७ रहेको छ ।

उक्त समयमा चीनको बेइजिङ १६४ एक्यूआईसहित दोस्रो, भारतको दिल्ली १६४ एक्यूआईसहित तेस्रो, दक्षिण अफ्रिकाको जोहानेसबर्ग १५७ एक्यूआईसहित चौथो स्थानमा रहेको छ ।

भारतको मुम्बई १५३ एक्यूआईसहित पाँचौं, चीनको वुहान १५३ एक्यूआईसहित छैटौं, चीनकै शेयाङ १४६ एक्यूआईसहित सातौं स्थानमा रहेको छ ।

निरन्तर देश प्रदूषित बनिरहँदा पनि सरकारले भने नदेखेजस्तो गरिरहेको छ । काठमाडौं निरन्तर ११ दिनसम्म प्रदूषित विश्वका शहरमा एक नम्बरमा रहे पनि एक्यूआई काठमाडौं भन्दा बढी कहिले पोखरा त कहिले हेटौंडा भइरहेको छ ।

अर्थात् देशका प्रमुख शहरहरु खतराको घण्टीभन्दा निकै नै माथि छन् । यतातर्फ सरकारको ध्यान गएको छैन । सरकारले यसलाई न्यूनीकरण गर्ने कुनै उपाय सोचेको छैन ।

मौसममा आएको खरावीका कारण पनि अहिले पनि काठमाडौं सर्वाधिक प्रदूषित हुन पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चैत १० गतेपछि निरन्तर रुपमा नेपालमा डढेलो लागेका कारण पनि प्रदूषण थप बढ्दै गइरहेको छ।

पश्चिमी वायुको न्यून चापीय असर बढी भएकाले पनि प्रदूषणका लागि थप मद्धत पुगेको हो । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको जनाएको छ । अब विस्तारै मौसममा सुधार हुने अपेक्षा गरिए पनि त्यस्तो देखिएको छैन ।

गत साउन महिनादेखि राम्रोसँग वर्षा नभएकाले पनि मौसम खुल्न सकेको छैन । फेरि डढेलोले थप चिन्तित पारेको छ ।

गत हप्ताकोआइतबार मात्रै नेपालमा ७ सय १८ वटा जंगलमा डढेलो लागेको थियो। उक्त डढेलो निभाउन केपी शर्मा ओली नेतृत्वको सरकारले कुनै पहल गरेन । हावा प्रदूषित भएसँगै स्वासप्रश्वासका बिरामीसमेत बढेको चिकित्सकहरु बताउँछन् ।

पानीसँगै उपत्यकामा वेगको हावा नचलेसम्म प्रदूषण घट्ने सम्भावना नरहेको मौसमहरु बताउँछन् । काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् ।

वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार