बैसाख ३१ रमेश बाेहरा: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई बझाङको आयोजना र श्री हरियाली कृषक समूह छबिसपाथिभेरा गाउँपालिका–१ को सहकार्यमा आयोजित १२ हप्ते कृषक दिवस तथा कृषि पाठशाला कार्यक्रम बुधबार सम्पन्न भएको छ।
कार्यक्रम छबिसपाथिभेरा गाउँपालिका–१ नाङ्गा वगरमा सञ्चालन गरिएको थियाे, जहाँ कुल ३० जना कृषकहरू सहभागी भएका थिए। कृषकहरूलाई १२ हप्तासम्म आलु खेतीसम्बन्धी तालिम दिइएको थियो। तालिममा आलु खेती लगाउने तीन विधि ड्याम बनाएर, प्लास्टिकभित्र राखेर, र परम्परागत तरिकाबाट सिकाइएको थियो।
कार्यक्रममा कार्डिनल आलु , खुमल सेतो र बझाङको लोकल जात गरी तीन किसिमका आलु वितरण गरिएको थियो। हरेक हप्तामा कृषक महिला हरुलाई आलुमा लाग्ने रोग, झारपात, सत्रु र मित्र किराका बारेमा जानकारी दिइएको थियो।
हरियाली कृषक समूहकि सदस्य विरु गिरिका अनुसार, १० वर्ग मिटर क्षेत्रफलमा ४८ केजी आलु उत्पादन गरिएको थियो। तालिमले कृषकहरूलाई आधुनिक विधिबाट उत्पादन बढाउन सहयोग पुर्याएको उहाँले बताउनुभयाे ।
कार्यक्रमको अध्यक्षता श्री हरियाली कृषक समूहका अध्यक्ष ब्रमा गिरिले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा वडा नं. १ की वडा सदस्य ईश्वरी कुमारी दर्जी रहनु भएको थियाे भने विशिष्ट अतिथिका रूपमा परियोजना कार्यान्वयन इकाई बझाङका प्रमुख चरित्र नारायण यादव रहनु भएको थियाे कार्यक्रम सञ्चालकको भूमिका सम्झना कठायतले निभाउनुभएको थियो।
उक्त कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि यादवले भन्नुभयो,
“कृषि केवल जीविकोपार्जनको माध्यम होइन, यो आत्मनिर्भरता र समृद्धिको मेरुदण्ड हो। हामीले आधुनिक कृषि प्रणाली आत्मसात् गरेर, स्थानीय स्रोत र सीप प्रयोगमा ल्याई कृषकहरूलाई आत्मनिर्भर बनाउनुपर्छ। जब किसान सबल हुन्छ, तब राष्ट्र समृद्ध हुन्छ। हामी धेरै बोल्दैनौं, काम गरेर देखाउँछौं” आगामी दिनहरुमापनि यस्ता कार्यक्रम ल्याउछाैं उहाँले भन्नू भयाे ।
समापन कार्यक्रममा सहभागी कृषकहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कृषक तथा समुदायका व्यक्तिहरूको उपस्थिति रहेको थियो।