नयाँ वर्ष नजिकिँदै गर्दा केदारस्यूँ गाउँपालिकाले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बजार अनुगमनलाई तीव्र बनाएको छ। शनिबार गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रहरू – झोता, चौडाम बगर र रायल बजारमा संयुक्त रूपमा बजार अनुगमन गरिएको हो।
अनुगमन टोलीमा गाउँपालिकाका प्रतिनिधि घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षाकर्मी हरुकाे सहभागिता रहेको थियो।
अनुगमनका क्रममा म्याद नाघेका खाद्य सामग्री, जङ्क फुड, सुर्तीजन्य पदार्थ तथा पेयपदार्थजस्ता दैनिक उपभोग्य वस्तुहरू बरामद गरिएका छन्। तीमध्ये करिब ७० हजार रुपैयाँ बराबरका वस्तुहरू तत्काल नष्ट गरिएको गाउँपालिका सुचना अधिकारी लेखराज रावलले जानकारी दिनु भयाे ।
गाउँपालिकाले म्याद नाघेका वस्तुको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले सबै व्यापारीलाई सचेत हुन तथा उपभोक्ताहरूलाई सामग्री खरिद गर्दा म्याद जाँच गर्न अनुरोध गरेको छ।
यश अघि मंगलबार गाउँपालिकाले देउरा र बागथला बजारमा अनुगमन गर्दा म्याद नाघेका ५४ हजार बराबरका सामाग्री नस्ट गरेकाे थियाे
गाउँपालिकाले बजारलाई स्वच्छ, सुरक्षित र उपभोक्तामैत्री बनाउने लक्ष्यसहित यस्ता अनुगमन कार्यलाई नियमित रूपमा अघि बढाएको जनाएको छ । पालिकाले हरेक ३ देखि ४ महिनामा बजार अनुगमन गर्ने गरेको छ ।