बझाङ जिल्लाको थलारा गाउँपालिका–६ मा खर मेलोमा लगाइएको आगो सामुदायिक वनमा सल्किँदा आगो निभाउने क्रममा एक जना घाइते भएका छन्।
आज बिहिवार दिउँसो १२:३० बजेको समयमा धर्म भट्टराई ले आफ्नो घर नजिकै खर मेलोमा आगो लगाउने क्रममा उक्त आगो नजिकै रहेको जामकोट सामुदायिक वनमा सल्किएको थियो। आगो निभाउने क्रममा सोही स्थानका ५६ वर्षीय श्याम भट्टराईको दुवै हात र दायाँ खुट्टा जलेर घाइते भएका छन्।
घाइते भट्टराईलाई उपचारका लागि धनगढी पठाएको जिल्ला प्रहरी कार्यालय बझाङ ले जनायकाे छ ।
उक्त घटनाको जानकारी पाए लगत्तै प्रहरी हबल्दार भवान सिंह कुँवरको नेतृत्वमा चार जनाको प्रहरी टोली ४:३० बजेको समयमा घटनास्थलतर्फ गएको थियो।
प्रहरीका अनुसार घाइतेको अवस्था मध्यम रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।