जिल्ला प्रशासन कार्यालय बझाङले मर्यादित तरिकाले होली पर्व मनाउन जिल्लावासीलाई आग्रह गरेको छ ।
प्रशासनले मंगलबार सार्वजनिक सूचना जारी गरेर जिल्लावासीलाई मर्यादित तरिकाले होली पर्व मनाउन आग्रह गरेको हो ।
प्रशासनले होली मनाउने नाममा कसैको इच्छा विपरीत जबर्जस्ती, अमर्यादित, गैरकानूनी र उच्छृङ्खल किसिमका कुनैपनि व्यवहार गर्ने गराउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक स्थानमा होहल्ला गर्ने, चर्को आवाजमा बाजा (डिजे) बजाउने जस्ता अवाञ्छित गतिविधि नगर्न सबैलाई आग्रह गरेको छ ।
त्यस्तो गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी ओम प्रसाद भट्टराईले जारी सूचना मार्फत जानकारी दिनु भएकाे छ । प्रशासनले जथाभावी रङ लगाउने, कोही कसैको इच्छाविपरित हानिकारक वस्तु दल्ने कार्य नगर्न आग्रह गरेको छ ।
प्लास्टिकजन्य लोला तथा पानी छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, बाटोमा हिँड्ने व्यक्तिलाई अभद्र व्यवहार गर्ने, नसालु पदार्थ सेवन गरी सार्वजनिक स्थलमा नाचगान तथा होहल्ला नगर्न प्रशासनको आग्रह छ । कोही कसैले कानुनको बर्खिलाप हुने क्रियाकलाप गरेको पाइएमा कानुन बमोजिम सजाय हुने समेत सूचनामा उल्लेख छ