देउडा संस्कृति संरक्षण प्रतिष्ठान बझाङ शाखाको उद्घाटन, देउडा संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड

  कल्पना उपाध्याय  138 पटक हेरिएको

बझाङ । देउडा संस्कृति संरक्षण प्रतिष्ठान बझाङ शाखाको उद्घाटन गरिएको छ । देउडा संस्कृतिको प्रवद्र्धन तथा संरक्षणका लागि विशेष सांस्कृतिक कार्यक्रम सहित मंगलबार बझाङ जिल्लाको सदरमुकाम चैनपुरको खुल्लामञ्चमा भव्य देउडा सहित शाखाको उद्घाटन गरिएको हो ।

कार्यक्रममा बझाङबासीको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घाटन जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालले प्रमुख अतिथिका रूपमा गर्नुभएको थियो। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डब्बलराज उपाध्यायले अध्यक्षता गर्नुभएको थियो भने डडेल्धुरा सांस्कृतिक संरक्षण प्रतिष्ठान शाखाका संयोजक कमला जोशी, देउडा सांस्कृतिक संरक्षण प्रतिष्ठान शाखा बझाङका संयोजक विकास धामी, डडेल्धुरा सांस्कृतिक संरक्षण प्रतिष्ठान शाखाका सिन्धु अवस्थी, कर्णाली प्रदेश दैलेख जिल्लाका कर्ण बहादुर शाही लगायत विभिन्न अतिथिहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा स्थानीय तथा अतिथि कलाकारहरूले मौलिक देउडा गीत प्रस्तुत गर्दै नेपाली संस्कृतिको संरक्षण आवश्यकतामाथि प्रकाश पारेका थिए। स्थानीय संस्कृति, परम्परा, रीतिरिवाजलाई जगेर्ना गर्न देउडा गीत–संगीतको महत्त्व झन् बढ्दै गएको कार्यक्रमका वक्ताहरूले उल्लेख गरेका थिए ।

यस अवसरमा विभिन्न वक्ताहरूले देउडा संस्कृतिको महत्व, यसको संरक्षणका उपायहरू तथा आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यवस्थित बनाउने विषयमा आफ्ना धारणा राखेको प्रतिष्ठानका अध्यक्ष डब्बलराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यक्रमले देउडा संस्कृतिप्रति स्थानीय युवापुस्तालाई आकर्षित गर्न मद्दत गर्ने विश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार