बझाङ : बझाङमा क्रियाशिल पत्रकारहरूका लागि आधारभूत पत्रकारिता तालिम सञ्चालन भएको छ । जिल्ला आयुर्वेद कार्यालय बझाङको सहकार्यमा श्रमजीवी पत्रकार संघ, जिल्ला समिति बझाङद्धारा क्रियाशिल पत्रकारहरूका लागि आधारभूत पत्रकारिता तथा खोजमुलक रिपोर्टिङबारे २ दिने पत्रकारिता तालिम सञ्चालन भएको हो ।
हालसम्म पत्रकारितासम्बन्धी तालिम नपाएका तर सञ्चार क्षेत्रमा काम गर्दै आएका सञ्चारकर्मीलाई सो तालिम प्रदान गरिएको छ । तालिममा जिल्लाका सबै सञ्चार माध्यमबाट कार्यरत सञ्चारकर्मीको सहभागिता रहेको छ भने स्थानीय अग्रज पत्रकारले सहजीकरण गर्नुभएको छ ।
आज विहिबार सदरमुकाम चैनपुर स्थित होटल देविस्थानको सभाहलमा उक्त २ दिने पत्रकारिता तालिमको उद्घाटन गरिएको हो । तालिमको उद्घाटन सत्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी ओम प्रसाद भट्टराईले सूचनाका माध्यमबाट समाज परिर्वतनको दिशामा अघि बढाउन आमसञ्चार संस्था तथा सञ्चारकर्मीको योगदान अमूल्य हुने बताउनुभयो । उहाँले राज्यले दुर्गम भेगलाई कम महत्व दिइरहेका बेला यस क्षेत्रको विकास र प्रचारप्रसारमा पत्रकारले कलम चलाएर पहिचान बढाउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले सबै पत्रकारलाई जनताका पक्षमा निर्भकता पूर्वक कलम चलाउन आग्रह गर्नुभयो । जनपत्रकारले उत्पीडित जनताका पक्षमा कलम चलाउनु पर्ने उहाँको भनाइ छ । तालिममा सहभागी प्रशिक्षार्थीलाई सक्रिय जनपत्रकार बन्न पनि उहाँले सुझाव दिनुभयो ।
सोही शत्रमा बोल्दै नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष डिबि विष्टले पछिल्लो समय पत्रकारीता पेसाप्रति आम जनसमुदायमा वितृष्णा र नकारात्मक दृष्टि बढ्दै गएको बताउदै स्वच्छ र निष्पक्ष पत्रकारीता गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक सञ्जालमा पनि सुचना प्रवाहमा विकृती फैलिरहेकाले यसमा पत्रकार महासंघ बझाङ शाखा गम्भिर भएको बताउनुभयो ।
यसैबीच बझाङमा डेढ महिना अघि मात्रै श्रमजीवी पत्रकार संघ, जिल्ला समिति गठन भएको बताउदै समिति अध्यक्ष भूमिराज पिठातोलीले सुरुवाती चरणमा तालिम सञ्चालन गरेको र आगामी दिनमा यस्तै रचनात्मक कार्यक्रमलाई जोड दिने बताउनुभयो । श्रमजीवी पत्रकार संघ स्वतन्त्र पत्रकारको संस्था भएकाले आफूहरू सत्य र अनियमितता विरुद्ध आवाज उठाउने बताउनुभयो ।
तालिममा आज पहिलो दिन तालिममा समाचारको लागि विषयवस्तुु छनोट, संकलन, लेखन लगायत विषयमा सहजीकरण गरिएको र भोलीे रेडियो रिपोर्टिङ, कार्यक्रम लगाएतका विषयमा प्रशिक्षण गरिने समितिका सल्लाहकार बचनराज जोशीले बताउनुभयो ।
श्रमजीवी पत्रकार संघ, जिल्ला समिति बझाङका अध्यक्ष भूमिराज पिठातोलीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ओम प्रसाद भट्टराई प्रमुख अतिथि रहनुभएको थियोे । विशिष्ट अतिथिमा आयुर्वेद कार्यालय प्रमुख मीन बहादुर पुरी रहनुभएको थियोे । कार्यक्रममा वरिष्ठ पत्रकार वसन्त प्रताप सिंह, जगदीश रोकाया, सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशी लगाएत जिल्लामा कार्यरत सम्पूर्ण पत्रकारको सहभागीता थियोे । कार्यक्रम सञ्चालन भने पत्रकार उत्तम कुमार थापाले गर्नुभएको थियोे ।
