बझाङ जिल्लाको दुर्गम साइपाल गाउँपालिकाका बासिन्दाहरू बैंक सेवाको अभावका कारण अझै पनि कठिनाइ झेल्न बाध्य भएका छन्। साइपाल गाउँपालिकाको क्षेत्रफल जिल्लाको करिब ४७% ओगट्ने भए पनि आधारभूत बैंकिङ सेवाका लागि सदरमुकाम चैनपुरसम्म चार–पाँच दिनको लामो यात्रा गर्नुपर्ने अवस्था छ।
संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय सरकारमध्ये स्थानीय सरकार नागरिकको नजिकको सरकार भए पनि, यहाँका जनताले आवश्यक सेवा पाउन वर्षौंदेखि संघर्ष गर्नुपरेको छ। २०७४ सालदेखि बैंक सेवा अभाव झेल्दै आएको साइपाल गाउँपालिकामा पटक–पटक बैंक स्थापनाको माग भएपछि, २०८१ साल असोज महिनामा एभरेष्ट बैंकको शाखा स्थापना भएको थियो।
तर, भौगोलिक कठिनाइ र प्राविधिक कारणले बैंकको सम्पूर्ण सेवा सञ्चालन हुन सकेको छैन। बैंक सञ्चालनसम्बन्धी सम्झौता २०८१ साल माघ ६ गते भइसके पनि, हालसम्म बैंकबाट पूर्ण सेवा प्रवाह नहुँदा स्थानीयवासीले सदरमुकामसम्मै धाउनुपर्ने बाध्यता कायमै छ।
चार–पाँच दिनको कठिन यात्रा, उच्च खर्च, र समयको ख्याल गर्दै साइपाल गाउँपालिकाका स्थानीय हरुले बैंकबाट पूर्ण सेवा दिन स्थानीय सरकार लाई ध्यानाकर्षण गराएका छन्।