दिपेन्द्र धामी बझाङ । दिन होस् वा रात, सुदूरपश्चिमले सधैं नयाँ परिवर्तनका सपना देखिरहेको छ। तराईको फाँटदेखि हिमालय पर्वतसम्म फैलिएको यस भूगोलका जनताले उन्नति, समृद्धि, र पहिचानका अनेकौं आशा बोकेका छन्। भौगोलिक विकटताका कारण पछाडि परेको सुदूरपश्चिम यहाँका नागरिकहरूको मनभित्र एउटा उज्यालो किरण छ- त्यो हो विकास र समानताका लागि जागेको सपना।
सुदूरपश्चिमको अनुपम प्राकृतिक सौन्दर्यले पर्यटकीय सम्भावनाहरूको अपार भण्डार बोकेको छ। यहाँका साईपाल हिमाल, अपि हिमाल, सेती नदी, कालङ्गा, खाेलानाला, छाँगा-छहरा, झरना, नागबेली डाँडाकाँडा, घना जंगल, र खप्तड राष्ट्रिय निकुञ्ज जस्ता स्थानले यस क्षेत्रलाई अनुपम बनाएका छन्।
यी प्राकृतिक सम्पदाहरू केवल सुदूरपश्चिमेलीको मात्र नभई, समस्त नेपालको गहना हुन्।
तर, अझै पनि यहाँका पर्यटकीय स्थलहरू विश्वमञ्चमा चिनाउन सकिएको छैन। पूर्वाधार विकासको अभावका कारण धेरै सम्भावनाहरू कुण्ठित भइरहेका छन्। यदि यिनलाई व्यवस्थित गरी विश्वसामु प्रचार गर्न सकियो भने सुदूरपश्चिम नेपालको मुख्य पर्यटकीय केन्द्र बन्न सक्छ।
सुदूरपश्चिमको सांस्कृतिक विविधता पनि अत्यन्तै विशिष्ट छ। यहाँका मठमन्दिर, पाटी-पौवा, पुराना दरबार, ऐतिहासिक घरहरू, तथा विभिन्न धार्मिक-सांस्कृतिक सम्पदाहरूले यसको मौलिक पहिचान बोकेका छन्। स्थानीय भाषा, संस्कार, र परम्परालाई बचाइ राख्ने सपना यहाँका हरेक नागरिकको छ।तर, आधुनिकताको प्रभावसँगै कतिपय मौलिक परम्पराहरू लोप हुँदै गएका छन्। नयाँ पुस्ताले आफ्नै संस्कृति र इतिहासप्रति आकर्षण गुमाउँदै गएको देखिन्छ। यदि सरकारले तथा स्थानिय निकायहरूले आवश्यक नीति निर्माण गरी संरक्षणका प्रयासहरू अगाडि बढाए भने सुदूरपश्चिमको मौलिकता जोगाउन सकिन्छ।सुदूरपश्चिममा अझै पनि कतिपय पुराना कुप्रथाहरू जरा गाडेर बसेका छन्। छाउपडी प्रथा, जातीय विभेद, बालविवाह, र घरेलु हिंसा जस्ता विकृतिहरू समाजमा व्याप्त छन्। महिला हिंसा र बाल हिंसाका घटनाहरू अहिले पनि सुनिन्छन्।यी कुरीतिहरू हटाई एक स्वतन्त्र, समान, र न्यायोचित समाज बनाउने सपना यहाँका सचेत नागरिकहरूले देखिरहेका छन्। छाउपडीमुक्त समाज निर्माणका लागि विभिन्न अभियानहरू सञ्चालन भइरहेका छन्, तर अझै धेरै काम गर्न बाँकी छ। जबसम्म शिक्षाको उज्यालो प्रत्येक घरमा पुग्दैन, तबसम्म समाजमा चेतना ल्याउन गाह्रो हुनेछ।
सुदूरपश्चिम शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात, सञ्चार, खानेपानी, आवास, तथा अन्य पूर्वाधारका दृष्टिले अझै पनि धेरै पछाडि छ। राजधानी काठमाडौँ तथा अन्य शहरी क्षेत्रहरूमा भइरहेको विकासको लाभ यहाँसम्म आइपुग्न सकेको छैन।शिक्षाको पहुँचमा केही सुधार भए पनि अझै दूरदराजका गाउँहरूमा राम्रो विद्यालय र योग्य शिक्षकको अभाव छ। स्वास्थ्य सेवामा पनि उस्तै छ,आधारभूत स्वास्थ्य केन्द्रहरू छन्, तर तिनमा दक्ष जनशक्ति र अत्याधुनिक उपकरणहरूको अभाव छ। धेरै बिरामीहरू अझै पनि उपचारका लागि भारत जान बाध्य छन्।
युवाहरूको लागि रोजगारीको अवसर नभएकै कारण विदेश पलायन तीव्र छ। गाउँमा उत्पादित कृषिजन्य सामग्रीको उचित मूल्य नपाउने, उद्यमशीलताका लागि आवश्यक लगानी नपाउने जस्ता समस्याले गर्दा यहाँका धेरै युवाहरू खाडी मुलुकतिर जान्छन्। यदि कृषि, पर्यटन, तथा अन्य स्थानीय उद्योगहरूलाई प्रवर्द्धन गरियो भने युवाहरूलाई स्वदेशमै रोजगारी दिन सकिन्छ।
सुदूरपश्चिममा राजनीतिक अस्थिरता प्रमुख चुनौतीको रूपमा देखिएको छ। नेताहरू चुनावताका विकासका ठूल्ठूला आश्वासन दिन्छन्, तर निर्वाचन सकिएपछि ती केवल सपना बनिरहेका छन्।यदि स्थानीय सरकारहरू शक्तिशाली भए, पारदर्शिता बढ्यो, र जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गरियो भने यहाँको विकासले गति लिन सक्छ। राजनीतिक स्थिरता र असल नेतृत्वका माध्यमबाट मात्रै सुदूरपश्चिमका सपना पूरा हुन सक्छन्।
सुदूरपश्चिमका सपनाहरू थुप्रै छन्— प्राकृतिक स्रोतसाधनको सदुपयोग, सांस्कृतिक पहिचानको जगेर्ना, कुरीतिहरूको अन्त्य, पूर्वाधारको विकास, रोजगारी सिर्जना, र राजनीतिक स्थिरता।यी सपना पूरा गर्न सरकार, नागरिक समाज, तथा सबै सरोकारवालाहरूले हातेमालो गर्न आवश्यक छ। जब सुदूरपश्चिमका नागरिकहरूले समृद्धि र समानताको महसुस गर्छन्, तब मात्र साँच्चै सुदूरपश्चिम सुदूरपश्चिम रहनेछ। यस क्षेत्रको समृद्धि नेपालकै समृद्धि हो, र यी सपना पूरा भएपछि मात्र सुदूरपश्चिमको पहिचान अझ बलियो बन्नेछ।