खप्तड छान्ना गाउँपालिकामा प्रमुख जिल्ला अधिकारी ओम प्रकाश भट्टराईको नेतृत्वमा जिल्ला सुरक्षा समितिको टोलीले विशेष भ्रमण सम्पन्न गरेको छ । टोलीमा राष्ट्रिय अनुसन्धान आयोगका प्रतिनिधि, सशस्त्र प्रहरी बलका डिएसपी दुर्गा पर्साद भट्ट , जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर किशोर जोशी, डिभिजन कार्यालय प्रमुखलगायतका पदाधिकारी सहभागी थिए ।
भ्रमणका क्रममा टोलीले खप्तड मावि कालुखेती र मेल्तडी मावि लम्तडामा लागुऔषध दुर्व्यसनीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा विद्यार्थीहरूलाई लागु औषधको दुष्प्रभाव र यसको रोकथामबारे जानकारी दिइएको थियो । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।यस कार्यक्रमको समन्वय खप्तड छान्ना गाउँपालिकाले गरेको थियो ।गाउँपालिकाका अध्यक्ष उत्तम बहादुर रोकायाले विद्यार्थीलाई लागु औषधबाट जोगाउन यस्तो सचेतना कार्यक्रम आवश्यक रहेको बताएका छन् । यसले हाम्रो गाउँपालिकामा सकारात्मक प्रभाव पार्नेछ, उनले भने ।
भ्रमणको टोलीले खप्तड जाने बाटोको निरीक्षण पनि गरेको छ । विकास निर्माणका कार्यको प्रगति पनि अवलोकन गरेको छ । प्रमुख जिल्ला अधिकारी ओम प्रकाश भट्टराईले भने, “खप्तड क्षेत्रको विकासका लागि सहकार्य र निरन्तरता जरुरी छ । यो क्षेत्रको समृद्धिका लागि स्थानीय र प्रशासनबिचको सहकार्यमा विशेष ध्यान दिनुपर्नेछ ।”
टोलीले विपद्जन्य घटनाको स्थलगत निरीक्षण गर्दै, जोखिम न्यूनीकरणका उपायहरूबारे छलफल पनि गरेको छ । यो भ्रमणले खप्तड छान्ना गाउँपालिकाको विकास र सुरक्षा सम्बन्धी योजनाहरूलाई अघि बढाउन महत्त्वपूर्ण योगदान पुर्याउने बताइएको छ ।