मष्टा गाउँपालिकाको प्रशाशकीय भवन बनाउन एकै व्यक्तिले १५ रोपनी जग्गा दान गरेका छन् । वडा नं. ४ का नवराज जोशीले करिब ६५ लाख मूल्य बराबरको उक्त जग्गा गाउँपालिकालाई निःशुल्क दान गरेका हुन् । गाउँपालिकालाई निःशुल्क जग्गादान गर्ने जोशीलाई गाउँपालिकाले सम्मान गरेको छ ।
पालिकाको हिउँदे गाउँसभामा उनलाई दोसल्ला ओडाएर प्रमाणपत्रसहित सम्मान गरिएको हो । जग्गा अभावका कारण लामो समयदेखि प्रशाशकीय भवनको अभाव खेपिरहेको गाउँपालिकाले जग्गा प्राप्त गरेपछि भवन निर्माण प्रक्रिया अगाडि बढाइएको गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहराले बताए ।
उनले प्राप्त जग्गामा छिट्टै भवनको काम अघि बढने र सेवा प्रवाहमा सहजता हुने बताए । बझाङका पूर्व जिल्ला पञ्चायत सभापति समेत रहेका जग्गादाता जोशी आफूले दिएको जग्गामा बन्ने पालिकाको केन्द्रले गाउँपालिकालाई नै नमुना बनाउन काम गर्नूपर्ने बताए ।