विद्यार्थीको अतिरिक्त क्रियाकलापमा जयपृथ्वी नगरपालिकाको सक्रियता

आधारभूत विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

  कल्पना उपाध्याय  211 पटक हेरिएको

बझाङको जयपृथ्वी नगरपालिकाले विद्यार्थीको अतिरिक्त क्रियाकलापमा जोड दिएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्ने उद्येश्य सहित हरेक वर्ष विभिन्न निबन्ध, वक्तित्वकला, हाजिरीजवाफ लगाएतका प्रतियोगिता सञ्चालन गर्दै आएको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक देवेन्द्र जोशीले बताउनुभयो ।

त्यसै कार्यक्रम अन्र्तगत नगरपालिकामा आधारभूत विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । जयपृथ्वी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आज शुक्रबार नगरपालिका भित्रका सम्पुर्ण आधारभूत विद्यालयहरुबिच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

हाजिरीजवाफ प्रतियोगितामा सुनिपिपलचौर माध्यमिक विद्यालय सुवेडाले प्रथम स्थान हाँसिल गरेको छ । द्वितीयमा बालमन्दिर आधारभूत विद्यालय, तृतियमा बझाङ मेरीगोल्ड इङ्लिस बोर्डिङ स्कुल र जयपृथ्वी विद्या आश्रम इङ्लिस बोर्डिङ स्कुलले सान्त्वना स्थान हाँसिल गरेको छ । उत्कृष्ट स्थान हाँसिल गर्ने विद्यालयका विद्यार्थीहरुलाई प्रमाणपत्र, विभिन्न शैक्षिक सामाग्रिहरु सहित सम्मान गर्नुका साथै पुरस्कार वितरण गरिएको छ ।

प्रतियोगितामा नगरपालिका भित्रका २६ वटा आधारभूत विद्यालयबाट कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्धघाटन समारोहमा बोल्दै कार्यक्रमका सभाध्यक्ष समेत रहनुभएका नगर उपप्रमुख रतन बहादुर सिहँले विद्यार्थीहरुको सर्वांर्गीण विकासको लागि किताबि ज्ञानले मात्रै नपुग्ने भएकाले यस्ता अतिरिक्त क्रियाकलापहरु अत्यन्तै महत्वपुर्ण हुने बताउनु भयो ।

यस्तै शिक्षा शाखा प्राविधिक सहायक देवेन्द्र जोशीले विद्यार्थीलाई पढाईसँगै अतिरिक्त क्रियाकलाप गराउने र प्रतिभासमेत पहिचान गरी प्रोत्साहन गर्नेमा नगरपालिकाको शिक्षा शाखाले जोड दिएको बताउनु भयो । उहाँले निजी तथा सामुदायिक विद्यालयमा अहिले पनि बालबालिकाको उमेरमा चित्रकला, भ्रमण, खेलकुद गतिविधिलगायतबाट शिक्षा दिइनुको साटो नर्सरी कक्षाबाटै लेखाउन पढाउन थाल्दा बालबालिकामा नकारात्मक असर पर्ने भएकाले विद्यालयले यस्ता अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने समेत बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार