नेपालको पश्चिमी क्षेत्रमा पानी पार्ने बादल भित्रिन थालेको छ । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा पानी पार्ने बादल भित्रिएको हो ।
आज राति सुदूरपश्चिम र कर्णालीका केही ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । भोलि भने पूर्वदेखि पश्चिमसम्म नै हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।
काठमाण्डौ उपत्यकामा पनि आज रातिदेखि बदली हुने र भोलि दिउँसोदेखि हल्का वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । भोलि कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिमका धेरै ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । तर कुनै बेला एउटा दिशामा हिँडिरहेको वायु अचानक अन्तै मोडिने तथा निष्क्रिय हुने हुँदा पूर्वानुमान अनुसार वर्षा र हिमपात नहुने मौसमविद्ले बताउँदै आएका छन् ।
वर्षा र हिमपातका कारण आज र भोलि चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । पर्सि बुधवारदेखि मौसममा सुधार आउने मौसमविद् झाले जानकारी दिनुभयो ।