३ पुस, बझाङ । बझाङमा लगातार भूकम्पको धक्का महशुस गरिएको छ । आज बुधबार दिउँसो ३ः०२ मा बझाङ तलकोट गाउँपालिकाको धमेना आसपास नै केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्पको धक्का बझाङ र आसपासका जिल्लामा महसुस गरिएको थियो । यसअघि, अघिल्लो बुधबार जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको थियोे । हिजो मंगलबार पनि धमेना नै केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
विज्ञहरूले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका जिल्लामा गइरहेका साना भूकम्पहरूलाई ‘जोखिमको पूर्वसूचक घण्टी’ का रूपमा बुझ्नुपर्ने बताएका छन् । यस्ता भूकम्पले ठूलो भूकम्प आउने खतरा नटर्ने, तर सम्भावित ठूलो विपत्को बारेमा सचेत गराउने खानी तथा भूगर्भ विभागका पूर्वमहानिर्देशक सोमनाथ सापकोटा बताउँछन् ।
भूकम्पविद्हरूका अनुसार मध्य नेपालमा २०० वर्षभन्दा कम समय अवधिमा ठूला भूकम्प गएका छन् भने पूर्वी नेपालमा १९९० सालपछि ठूलो भूकम्प गएको छैन । जमिनमुनि जति बढी समयसम्म ऊर्जा सञ्चित हुन्छ, भूकम्प त्यति नै बढी शक्तिशाली हुने भूगर्भविद्हरू बताउँछन् ।
त्यसैले पूर्वमा कम शक्तिशाली र पश्चिममा बढी शक्तिशाली भूकम्प जान सक्ने सम्भावना रहेको भूकम्पीय जोखिम नक्सामा उल्लेख छ । बरु त्यो जोखिमका आधारमा पूर्व तयारीमा जुट्न सरकारलाई सुझाव दिन्छन् । नयाँ घर र संरचनाहरू भूकम्प प्रतिरोधी हुने ग्यारेन्टी गर्न सके मात्रै पनि भविष्यमा हुनसक्ने ठूलो क्षति कम गर्न सकिने भूगर्भविद् डा. लोकविजय अधिकारी बताउँछन् ।