बझाङको सुर्मा गाउँपालिका –४ मा हुने उपनिर्वाचनका लागि एमाले काङ्ग्रेसले उम्मेदवार टुङ्गो लगाए

  कल्पना उपाध्याय  169 पटक हेरिएको

बझाङ : आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि बझाङमा वडाध्यक्ष पदको लागि मुख्य राजनीतिक दलहरुले उम्मेदवारको टुङ्गो लगाएका छन्। जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमाले र नेपाली काङ्ग्रेसले वडाध्यक्ष पदको लागि उम्मेद्वारको टुङ्गो लगाएका हुन्।

नेकपा माओवादी केन्द्रले भने शनिबार बिहान उम्मेद्वारको टुङ्गो लगाउने जनाएको छ । पार्टिका केन्द्रिय सल्लाहकार समिती सदस्य टोप बहादुर खड्काले उम्मेद्वारमा दिनेश बोहराको नाम सिफारिस गरिएको भएपनि शनिबार बिहान मात्रै अन्तिम निर्णय गर्ने बताए । उनले एकीकृत समाजवादीले छुट्टै उम्मेदवार नउठाउने भएकाले माओवादीलाई सहयोग गर्ने बताए ।

०७९सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित वडाअध्यक्ष सर्जनबहादुर बोहराको २०८० जेठ २५ मा निधन भएको थियो । उक्त पदका लागि हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले धिरेन्द्र पुजारा र नेकपा एमालेले लखिचन्द्र बोहरालाई उम्मेद्वार बनाएको छ ।

२०७९सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका सर्जनबहादुर बोहराले ६२९ मत प्राप्त गरेर जितेका थिए। बोहराका प्रतिस्पर्धी नेपाली कांग्रेसका लोकबहादुर बोहराले ६०४ मत प्राप्त गरेका थिए। निर्वाचन कार्यालय बझाङका अनुसार सुर्मा गाउँपालिका–४ मा एक मतदान केन्द्र र २ मतदान स्थल रहेका छन्। सुर्मा माध्यमिक विद्यालय मतदान केन्द्रमा एउटा मात्र मतदान केन्द्र रहेको छ। उपनिर्वाचनका लागि सुर्मा गाउँपालिका–४ को वडा कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय तोकिएको निर्वाचन कार्यालय बझाङले जनाएको छ ।

मङ्सिर २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ। मङ्सिर ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ। मङ्सिर १६ गते आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार