जयपृथ्वी राजमार्ग स्तरोन्नति माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

दिर्घकालीन रुपमा सडक स्तरोन्नति गर्नुपर्ने विषयमा छलफल हुनुपर्ने माग

  कल्पना उपाध्याय  132 पटक हेरिएको

बझाङ : बझाङको जयपृथ्वी राजमार्ग स्तरोन्नति माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । आज नेपाली काङ्ग्रेस बझाङका युवा नेता अभिषेक बहादुर सिहंको नेतृत्वमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितीको टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई उक्त विषयमा ज्ञापनपत्र बुझाएको हो

जिल्ला जोड्ने मुख्य सडकखण्ड बारम्बार अवरुद्ध भइरहने समस्या रहेकाले राजमार्ग स्तरोन्नतिको माग गर्दै नेता सिंह नेतृत्वको टोलीले मन्त्री दाहाललाई मन्त्रालयमै भेटेर ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा जयपृथ्वी राजमार्गको यथाशिघ्र स्तरोन्नति र वैकल्पिक सडक विस्तारका लागि दिर्घकालीन योजना बनाई कार्यान्वयन गर्नुपर्ने लगाएतका महत्वपुर्ण विषयलाई समेटिएको छ ।

दैनिक हजारौं यात्रु सवार बाक्लो सवारीसाधन आवतजावत हुने सडकमा दुर्घटनाको जोखिम बढेको भन्दै ज्ञापनपत्रमा सडक खण्डको स्तरोन्नति गर्न बझाङमै सडक डिभिजन कार्यालयको स्थापना गनुपर्ने माग पनि गरिएकोे छ । दिर्घकालीन रुपमा सडक स्तरोन्नति गर्ने या त बैकल्पिक सडक बनाएर सार्वजनिक यातायात सञ्चालन गर्ने विषय पनि छलफल हुनुपर्ने सुझाव मागपत्रमा छ ।

साँघुरो र सँधै बिग्रने भत्कने सडकमा पटकपटक दुर्घटना हुने तथा वर्षायाममा हिलो र पहिरो तथा हिउँदमा धुलोधुँवाले यातायात सञ्चालनमा धेरै समस्या हुने गरेको छ। सडकको तत्काल स्तरोन्नति गर्न माग गर्दै मन्त्री दाहालको ध्यानाकर्षण गराइएको नेता सिंहले बताउनुभयो । ज्ञापनपत्र पेश गर्दै उहाँले सो सडक जिल्लाबासीको प्रत्यक्ष दैनिकी जोडिएको विषय भएकाले तत्काल माग सम्बोधन गर्न आग्रह गरको बताउनुभयो ।

जिल्लाबासी जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको जयपृथ्वी राजमार्ग मर्मतसम्भार नगर्दा जताततै खाल्टाखुल्टी र जिर्ण भएकाले वर्षेनी दुर्घटना भएर जनधनको क्षति हुँदै आएको छ । बझाङ जिल्लाको द्वार मानिने जयपृथ्वी राजमार्ग बझाङतर्फ यात्रु र उपभोग्य सामग्री भित्र्याउने एक मात्र सडक हो । तर, केहि महिनादेखि छविस पाथीभेरा गाउँपालिकाको वडा नं १ को जालेबगर नजिकै सुख्खा पहिरोका कारण दिनहुँ जसो यो राजमार्ग अवरुद्ध हुने गरेको छ । पहिरोबाट निरन्तर ढुंगा खसिरहने हुनाले दुर्घटनाको जोखिम बढेको छ । हिजो बुधबार दिउँसो मात्रै धनगढीबाट खाद्यान्नसामग्री बोकेर सदरमुकाम चैनपुर आइरहेको ट्रक त्यहि ठाउँमा दुर्घटनामा परेको थियो । अहिले त्यो स्थानमा निकै जोखिम रहेकाले यातायातका साधन सञ्चालनमा समेत समस्या भइरहेको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री दाहालले सडक स्तरोन्नति गर्न सरकार तयार रहेको जवाफ दिएको नेता सिहंले बताउनुभयो । मन्त्री दाहालले सडक स्तरोन्नति गर्ने वा बैकल्पिक सडक बनाउने भन्ने विषयमा छलफल गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

ज्ञापनपत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार