चाडपर्व सकिएसँगै सुनसान बन्न थाले गाउँघर

युवाहरू सहर बजार केन्द्रित हुँदा गाउँमा बुढापाका र बालबालिका मात्रै

  कल्पना उपाध्याय  346 पटक हेरिएको

बझाङ : दशैं तिहार सकिएसँगै अहिले बझाङका गाउँघर सुनसान हुन थालेका छन् । व्यवसाय, रोजगार लगायतका काममा संलग्नहरू आफ्नो कर्मथलो फर्कन थालेपछि गाउँघर सुनसान हुँदै गएका हुन् ।

व्यवसाय, रोजगार तथा विभिन्न कामले बजार वा अन्यत्र रहँदै आएकाहरू गाउँ फर्किएपछि दसैँ अवधिभर गाउँघरमा निकै चहलपहल बढेको थियो । दसैँ सकिएपछि गाउँ आएकाहरू पुनः बजार फर्किनाले अहिले गाउँघर सुनसान हुन थालेको हो ।
बझाङको ग्रामीण क्षेत्रका अधिकांश स्थानीय प्रदेश राजधानी धनगढी, काठमाडौँ, महेन्द्रनगर लगायतका सहर र छिमेकी मुलुक भारतमा बस्ने गर्दछन् ।

जागिरसँगै विभिन्न कामको सिलसिलामा गाउँ छोड्ने क्रमले हिजोआज गाउँमा बस्नेको सङ्ख्या निकै न्यून रहने गरेको छ । दसैँ सुरु भएपछि गाउँघर आएका आफन्तले केही दिन रमाइलो भए पनि उनीहरू बजारतर्फ फर्किन थालेपछि सुनसान बन्न थालेको खप्तडछान्ना गाउँपालिका– १ का स्थानीय सुरेश पाण्डेले बताउनुभयो । पाण्डेकाअनुसार परिवारका अधिकांश सदस्य सेवा सुविधा खोज्दै बजार वा सहर केन्द्रित भई दिँदा गाउँमा बुढापाका र साना बालबालिका मात्रै रहेका छन् ।

जागिरमा संलग्न नभएकाहरूले गाउँमा रोजगारको राम्रो अवसर र सेवा सुविधा नहुँदा धेरैले सहर बजार र सुविधा सम्पन्न ठाउँ खोज्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । जागिर र अन्य कामका सिलसिलामा अधिकांश गाउँ बाहिर रहेर चाडपर्वका समयमा आए पनि चाड सकिएपछि फर्किनुपर्ने अवस्थाले गाउँघर सुनसान हुने गरेको छ । गाउँघर बाहिर रहेकाहरू दसैँ सकिएपछि आ–आफ्नो गन्तव्यतिर लागेपछि गाउँ उराठलाग्दो नै उराठ लाग्दो बन्ने गरेको जयपृथ्वी नगरपालिका–५ का विवेक जोशीले बताउनुभयो । गाउँमा रोजगारीका अवसरहरु केहि नपाइने भएकाले घरपरिवार चलाउनकै लागि भारत जानुपर्ने बाध्यता रहेको जोशीले बाउनुभयो ।

विशेषत : हिउँदको समयमा गाउँमा खासै काम पनि नहुने भएकाले गहुँ छरेर स्थानियहरु भरत जाने गरेका छन् जसले गर्दा वर्षेनी तिहारपछि गाउँघर शून्य हुने गरेको स्थानीयले बताएका छन् । केहि दिन यता दैनिक हजारौंको संख्यामा जिल्लाबाट मानिसहरु बाहिरीने गरेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।

जिल्लाबाट बाहिरिन लागेका यात्रुहरु : बझाङ बसपार्कमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार