विश्वमा सूचना प्रविधिको विकाससँगै अप्टिकल फाइबर र एनटी फाइबर भित्रिए पनि बझाङका अधिकांश ठाँउहरूमा भने फोन गर्न पनि नेटवर्क नपाइने अवस्था रहेको छ । सदरमुकाम चैनपुर बाहेक जिल्लाका सबै स्थानहरुमा फोन गर्न पनि नेपाल टेलिकमको नेटवर्कमा समस्या हुने गरेको स्थानियको गुनासो छ ।
अहिलेको सूचना प्रविधिको युगमा पनि गाउँमा बिहान घाम लाग्यो भने मात्रै मोबाइलमा नेटवर्क आउँने गरेको छविस पाथिभेरा गाउँपालिका – ३ का स्थानिय निर्मल रेग्मिले बताउनुभयो । उहाँले साँझ घाम अस्ताउँदा नेटवर्क पनि अस्ताउँने गरेको गुनासो गर्नुभयो । दिउँसो मात्रै मोबाइलमा नेटवर्क आउने भएकाले रातीको समयमा गाउँमा केहि समस्या परेपनि सम्पर्कविहिन हुने गरेको खप्तडछान्ना ५ का स्थानिय करुणा पाण्डेले बताउनुभयो । करुणा मात्र होइन यहाँका सबै स्थानीयको पीडा एउटै छ । इन्टरनेटको जमनामा पनि सञ्चार सुविधाबाट वञ्चित हुनुपर्दा धेरै दुःख लाग्छ खप्तडछान्ना गाउँपालिकाका–६ का स्थानीय ईश्वरबहादुर थापा भन्नुहुन्छ । यस विषयमा पटक–पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराएको भए पनि आश्वासनमै सीमित भएको थापाको भनाइ छ ।
विज्ञान प्रविधिको युग भए पनि बझाङमा आधारभूत आवश्यकताको रूपमा रहेको टेलिफोन र इन्टरनेट सेवा बादल लाग्नासाथ हराउनु लज्जास्पद भएको नागरिकको भनाई छ । बझाङमा फोन तथा इन्टरनेट सेवा प्रदान गर्न नेपाल टेलिकमले थुपै्र टावर निर्माण गरेको छ । तर, ती टावरमध्ये केहि टावरमा मात्रै राष्ट्रिय प्रशारण लाइनको विद्युत्सँग जोडिएका छन् भने धेरै सोलार सिष्टमबाट सञ्चालन भइरहेका छन् । यी टावरले घाम लाग्दा मात्रै काम गर्छन्, बादल लाग्नासाथ बन्द हुने गरेका छन् ।
जिल्लाको खप्तडछान्ना, छविसपाथिभेरा, दुर्गाथली गाउँपालिका, बित्थडचिर गाउँपलिका साईपाल गाउँपालिका, तलकोट गाउँपालिका, बुंगल नगरपालिकालगायत विभिन्न स्थानहरूमा नेपाल टेलिकमको नेटवर्कको समस्या बेला बेलामा हुने गरेको स्थानीयले बताएका छन् ।
यता, नेपाल टेलिकम दूरसञ्चार कार्यालय बझाङका कार्यालय प्रमुख बमबहादुर सिंहले डाँडामा टावरहरू भएको भए पनि अहिलेसम्म टावर रहेका डाँडासम्म विजुली पु¥याउने पहल नभएको र टावरहरूमा विद्युत् आपूर्ति हुन नसकेका कारण यस्तो समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘धेरै जस्तो जडान गरेका टावरमा विद्युत् आपूर्ती तथा ब्याट्रीको समस्या छ । अन्य प्राविधिक समस्याका कारण नेटवर्कले काम नगर्ने र काम गरेको ठाउँमा पनि राम्रोसँग काम नगर्ने वातावरण रहेको छ ।’
जिल्लामा भएका टावरहरुमा पनि बेला बेला अज्ञात समूहले तोडफोड गर्ने गरेका छन । सम्बन्धित निकायको उचित रेखदेख नहुदाँ यस्ता घटना बढ्दै गएको स्थानियको भनाई छ ।