‘बझाङ उद्योग वाणिज्य संघ कप २०८१’ सम्पन्न, भलिबलको उपाधि डोटीको शिखर नगरपालिकालाई 

  कल्पना उपाध्याय  281 पटक हेरिएको

बझाङ : शिलदेवी मेलाको अवसरमा सञ्चालित “उद्योग वाणिज्य संघ कप २०८१” सम्पन्न भएको छ । सुदूरपश्चिमकै सबैभन्दा ठूलो धनराशि पुरस्कार रहेको उद्योग वाणिज्य संघ कप भलिबलको उपाधि पुरुषतर्फ डोटीको शिखर नगरपालिका र महिलातर्फ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले जितेका छन् ।

पुरुषतर्फ शिखर नगरपालिकाले डडेल्धुराको पर्शुराम नगरपालिकाको टिमलाई ३–२ को सेटले हराएको थियो भने महिलातर्फको प्रतिस्पर्धामा शुक्लाफाँटासँग बझाङको बित्थडचिर नगरपालिकाको टिम ३–१ को अन्तरमा पराजित भएको थियो ।

प्रथम हुने टिमले पुरुषतर्फ नगद २ लाख २ हजार ८१ र महिलातर्फ १ लाख २ हजार ८१ रुपैयाँ नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थान प्राप्त गर्ने टिमले पुरुषतर्फ १ लाख २ हजार ८१ र महिलातर्फ ५२ हजार ८१ रुपैयाँ नगद तथा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । तेस्रो स्थान प्राप्त गर्ने टिम पुरुषतर्फ बझाङको छविस पाथिभेरा गाउँपालिका ‘ए’ ले ५२ हजार ८१ र महिलातर्फ मष्टा गाउँपालिकाले २२ हजार ८१ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

पुरुषतर्फ १७ र महिलातर्फ १२ टोलीको सहभागिता रहेको उक्त खेल कार्तिक १ गतेबाट सुरु भएर ८ दिनसम्म चलेको थियो । कोजाग्रत पूर्णिमाका दिन बझाङ सदरमुकाम चैनपुरमा लाग्ने शिलदेवी मेलाको अवसर पारेर बझाङ उद्योग वाणिज्य संघले यो प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

संघले विभिन्न विधामा उत्ष्कृट प्रदर्शन गर्ने खेलाडीलाई पनि नगद र प्रमाणपत्रसहित सम्मान गरेको छ । यसैबीच कार्यक्रममा अन्तरपालिकास्तरिय देउडा प्रतियोगिता पनि सम्पन्न  भएको छ । पुरुष तर्फ खप्तडछान्ना गाउँपालिका प्रथम, द्वितिय तलकोट र तृतीयमा थलाराले स्थान हासिल गरेको छ । महिला देउडा तर्फ छविसपाथिभेरा प्रथम, जयपृथ्वी नगरपालिका द्वितिय र खप्तडछान्ना गाउँपालिका तृतीय भएको छ । कार्यक्रममा देउडाका उत्कृष्ट टिमलाई पुरस्कार सहित सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार