बझाङ : बझाङको खप्तडछान्ना गाँउपालिका यतिवेला सञ्चारविहीन भएको छ । खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ मा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा अज्ञात समूहले तोडफोड गरेपछि स्थानिय नागरीकहरु इन्टरनेटको पहुँच बाहिर छन्।
नेपाल टेलिकमको टावरमा तोडफोड हुँदा लाखौँ मूल्य बराबरका उपकरणमा क्षति भएको छ । गाउँपालिकाको मुख्य रिपिटर टावर तोडफोड भएपछि अहिले खप्तडछान्नाबासी एक हप्तादेखि सम्पर्कविहीन भएका छन् ।
खप्तडछान्ना गाँउपालिका ४ मा पर्ने खत्रीवाडा माझीगाउको नेपाल टेलिकमको रिपिटर टावरमा असोज २२ गते राति तोडफोड भएको थियो । तोडफोडबाट चार्जिङमा राखिएका सोलार प्यानल, ब्याट्री, जक्सन बक्स, सोलार चार्जर, कन्ट्रोल बक्स, पावर केवल र अन्य उपकरणमा क्षति भएको छ ।
रिपिटर टावरमा तोडफोडपछि पालिकाका स्थानीय सम्पर्कविहीन भएका छन् । रिपिटिर टावरले गाउँपालिकामा रहेका टेलिकमकै अन्य टावरसम्म संकेत प्रेषण गर्ने भएकाले अहिले उक्त टावर नै बन्द भएका कारण स्थानीयलाई समस्या भएको छ । यता, नेपाल टेलिकम बझाङले टावर तोडफोड गर्नेलाई कारबाही नभएसम्म मर्मत नहुने बताएको छ । अहिले तोडफोड गर्नेको अनुसन्धान सहित खोजी कार्य भइरहेको बताइएको छ ।