विपश्यना शब्द यहि काठमाण्डौ मा सुनेको हुँ। मेरो लागि नौलो शब्द हो क्यारे। पछिल्लो समय यसको साधना गरेका ब्यक्तिको अनुभब सुन्दा, पढ्दा एकपटक आफुलाई पनि डुबुल्की लगाउन मन लागिरहेको थियो। 11Apr2024 का दिन www.dhamma.org मा अनलाइन फर्म रजिस्ट्रर गरे। Date करिब तिन महिना पछाडीको पाइयो। July1- July12, July1 ठिक 11:30 घरमा कसैलाई केहि नभनि 2/4 दिनमा आउन्छु होला है भनेर म हिडे एक बजेभित्र पुग्नु भनेको थियो। उपत्यकाको जामसामले १:३० मा धर्मशृङ्ग विपश्यना केन्द्र बुढानिलकण्ठ मुहानपोखरी पुगे। म जस्ता धेरै मान्छेको उपस्थिति देख्दा खुसि लाग्यो। धर्म सेवकले फर्म भराउनु भयो। त्यहाको नियम राम्रो संग पढाउनु तथा सम्झाउनु भयो अन्तिमा ओके म तयार छु सबै नियम पालन गर्न भनेर साइन गरेपछि मलाई मेरो निबास तिर जान अनुरोध गर्नुभयो। W House, 7 no. Bed मा मेरा एघार रात बाह्र दिनको अनुभवले के भन्छ ? त्यो अन्तिममा पढौला।
पहिला बुझौं, विपश्यना भनेको के हो ?विपश्यनाको वास्तविक अर्थ हुन्छ– जुन वस्तु जस्तो छ त्यसलाई त्यही रूपमा जान्नु, बुझ्नु, महसुस गर्नु हो। विपश्यना एक ध्यान विधि हो, Technique Of Meditation जसले मानिसलाई वर्तमानमा रहन वा जिउन सिकाउँछ। आजभन्दा लगभग २५–२६ सय वर्ष अगाडि गौतम बुद्धले अनुसन्धान गरी आम रूपमा स्थापित गराउनुभएको हो । आफ्नो श्वास–प्रश्वासको निरीक्षण गर्दै शरीर र चित्तमा उत्पन्न हुने परिवर्तनशील घटनाहरूलाई तटस्थ भावले निरीक्षण गर्दै चित्तशोधन र सद्गुण बुद्धिको अभ्यास विपश्यनामा गरिन्छ ।
विपश्यना राग, द्वेष र मोहबाट विकृत भएको चित्तलाई निर्मल बनाउने साधना हो । दैनिक जीवनको समस्या र तनावग्रस्त चित्तलाई तनावमुक्त गर्ने एक सक्रिय अभ्यास हो । यसको अभ्यासबाट मनलाई वास्तविक शान्ति प्राप्त हुन्छ । यसले चित्तलाई निर्मल बनाउनुका साथै चित्तको व्याकुलता र त्यसको कारणलाई हटाउँदै लैजान्छ । यसको निरन्तर अभ्यासले मानिसलाई विकारबाट मुक्त बनाउँछ । ज–जसले यसको अभ्यास गर्छन् उनीहरूमा विस्तारै परिवर्तन आउँदै जान्छ । उनीहरूले दुःखको कारण के हो र निराकरण कसरी गर्न सकिन्छ भन्ने कुरा बुझ्दै जान्छन् । विपश्यना एक यस्तो उपाय हो जसले अपराधी, चोर, फटाहालाई पनि समाजको असल सदस्य बन्न सहयोग गर्छ ।
विपश्यना ध्यान कम्तिमा १० दिनको हुन्छ तर पनि ध्यान केन्द्र जाने र छाड्ने दिनमा पनि केहि समय ध्यान गराइने हुँदा विपश्यना ध्यान पुरा गर्न १२ दिन लाग्दछ । ध्यान गर्न जाने सहभागीमा दृढ संकल्प चाहिन्छ । ध्यान अवधिभर आर्य मौनको पालना गर्नु पर्दछ । घर परिवार, आफन्त, साथीभाई, अफिस, कार्यस्थल सबैतिरको सम्पर्क विहिन भएर ध्यान केन्द्रमा नै रहनु पर्दछ । मोवाइल फोन, रेडियो लगायतका सबै खाले सञ्चारका माध्यम, इन्टरनेट लगायतबाट टाढा रहनुका साथै लेख्ने, पढ्ने समेत गर्न पाईंदैन ।
ध्यान शिविरमा नै रहेका सहभागीहरु सँग कुनै पनि किसिमको संवाद, हाउभाउ गर्न पाइंदैन । तर ध्यान सिकाउने सहायक आचार्यसँग र धर्म सेवकहरुसँग अत्यवश्यक विषयमा एकदम छोटो संवाद गर्न सकिन्छ । साधकहरुले विहान ४ बजे उठेपछि राती ९ बजे सम्म अति नै व्यस्त रहेर कठीन साधना गर्नु पर्ने हुन्छ । ध्यान केन्द्रले नयाँ साधकहरुलई दिनको ३ पटक स्वच्छ, शुद्ध, शाकाहारी खाना प्रदान गर्ने व्यवस्था मिलाएको हुन्छ ।
हाम्रो मन चन्चल छ । यो चन्चल मन कि त भूतकालका यादहरुमा भाग्दछ अथवा भविश्यको कल्पना तिर । त्यसैले मनमा तनाव छ, वेचैनी छ, अशान्ति छ, ब्याकुलता छ । मनमा वारम्वार वितेका हुन् वा भविश्यका, दु:खका हुन् वा सुखका, राम्रा हुन् वा नराम्रा, कल्पना र सपनाका कुराहरु के के आउँछन् के के । हामीसँग सम्पत्ति छ, साधन छ तर पनि दु:खी हुन्छौं । यो मनलाई शान्त र एकाग्र बनाउन धेरै कठिन हुन्छ ।
मनको यो रोगको कारण थाहा पायौं भने यसलाई अवस्य हटाउन सकिन्छ । रोगको कारण पनि मनको विकार हो । मनका विकारहरुबाट मुक्त हुन सकेमा, शुद्ध भएमा, निर्मल भएमा दु:ख, अशान्ति, वेचैनी रहँदैन । चित्त निर्मल भए पछि कसै प्रति ईष्र्या वा द्वेष उठ्दैन । निर्मल चित्त अरुप्रतिको मायाले, करुणाले, समताले भरिएर आउँछ । त्यही नै कल्याणको मार्ग हो, जुन विपश्यना साधनाबाट संभव छ ।
“बुद्धं शरणं गच्छामी, धमं शरणं गच्छामी, संघं शरणं गच्छामी“ बुद्धधर्मका तीन रत्न हुन् । विपश्यना साधना सुरु भएसँगै साधकहरु यी तीन रत्नहरुको शरणागति हुन्छन् । त्यस्तै साधकहरुले पञ्चशील (प्राणी हत्या हिंसा नगर्ने, झुटो नबोल्ने, चोरी नगर्ने, जाँड, रक्सी, चुरोट लगायतका नशालु पदार्थ सेवन नगर्ने र व्यभिचार नगर्ने) को पालना गर्नु पर्दछ । साधनाको क्रममा चार आर्य सत्यहरु: दु:ख सत्य छ र दु:खको बोध, दु:खको कारण छ जुन आशक्ति र अविद्या हो भन्ने बोध, दु:खको निवारण गर्न सकिन्छ र दु:खको निवारणको लागि आर्य अष्टांगिक मार्गको बोध र पालनाबाट संभव छ भन्ने कुराको अनुभूति पनि गराइन्छ । शीलको पालना नै साधनाको आधार हो । शीलको निष्ठा पूर्वक पालना गरे पछि सम्यक समाधि प्राप्त गर्न र प्रज्ञा जगाउन सहज हुन्छ ।
साधनाको क्रममा आफूलाई चिन, वर्तमानमा बाँच, आफ्नो जीवन चल्ने श्वास–प्रश्वासको प्रक्रिया र शरीरमा भएका संवेदनाहरुको बारेमा सचेत रहनु पर्दछ भनी सिकाइन्छ । पहिलो ४ दिन सम्म नाकको प्वालबाट सास भित्र वाहिर गर्ने प्रकृयालाई एकाग्रताका साथमा हेर्न र अनुभव गर्न सिकाइन्छ । यसलाई आनपानसती भनिन्छ । सास र मनमा आउने विकार विच गहिरो सम्बन्ध हुन्छ । जव–जव मनमा क्रोध उठ्छ, भय आउँछ, वासना आउँछ, हाम्रो सासको चाल तेज हुन जान्छ । जव विकार कम हुँदै जान्छ तब सास सुस्त, मन्द र साधारण चालमा नै फर्किन्छ ।
त्यसपछिका वाँकि दिनहरुमा तालुमा केन्द्रित हुने, शिर देखि पाउ र पाउ देखि शिर गर्दै शरिरका कुनै पनि भागलाई नछुटाइ हेर्ने र ती भागहरुमा हुने विभिन्न प्रकारका संवेदनाहरुलाई महशुस गर्ने गरिन्छ । कुनै पनि संवेदनाहरुलाई अनुभव गर्दै गर्दा सजग रहने, साक्षी भावले हेर्ने, कुनै किसिमको प्रतिक्रिया नगर्ने, समभावलाई कायम राख्ने गरिन्छ । मानिस जन्मेर आँखा खोलेदेखि नै बाहिरी संसार हेर्ने र रमाउने हुँदै आयो तर अन्तरमुखी भएर अफैंलाई हेर्ने, अनुभूति गर्ने काम यो साधनाले गराउँछ । साधनाले वर्तमानमा जिउन सिकाउँछ ।
यो साधना भनेको आफ्नो स्वभावलाई बदल्ने अभ्यास पनि हो, जसको लागि समय र धैर्यता चाहिन्छ । जिवनमा आउने कठिनाईहरु, अड्चनहरुको सामना गर्नु पर्दछ । यस क्रममा पाँचवटा वाधाहरु, सत्रुहरु छन् । त्यसलाई चिन्न जरुरी छ । राग (घमण्ड), द्वेष (ईष्र्या), आलस्य, वेचैनी र सन्देह, शंका नै पाँच दुश्मन हुन् । यी पाँच दुश्मनबाट बच्न, सचेत रहन र सजग भएर काम गर्नु पर्दछ । त्यसै गरी हामीसँग पाँच ठूला मित्रहरु पनि छन् । ती हाम्रालागि बलशाली हुन्छन् ।
श्रद्धा, भक्ति र विश्वास पहिलो मित्र हुन् भने प्रयत्न, पुरुषार्थ, पराक्रम दोश्रो । त्यस्तै तेश्रो मित्र जागरुकता, सावधान हो भने समाधि चौथो मित्र हो । क्षण–प्रतिक्षण मात्र होइन जुनसुकै वेला पनि जागरुक रहनु नै सम्यक–समाधि हो । त्यस्तै पाचौं मित्र हो प्रज्ञा । हामीमा भएको सबै मैलो पखाल्ने, दु:खबाट छुट्करा दिने नै प्रज्ञा हो । जिवनमा तलमाथि त भई नै रहन्छ । मनको समतालाई कायम राख्ने, सुखद् र दुखद् दुवै संवेदनाहरु अनित्य हुन्, द्रष्टा भावले अनित्य स्वभवालाई हेर्न सक्नु नै प्रज्ञा जाग्नु हो । सारा संसार अनित्य छ, परिवर्तनशील छ, उत्पन्न हुन्छ, नष्ट हुन्छ ।
विपश्यना ध्यान जिवनमा कमसेकम एकपटक गर्नै पर्ने साधना हो । यो साधना त आत्मा दर्शनको, स्व–दर्शनको साधना हो । जति नै व्यस्त भए पनि, गहन जिम्मेदारी भए पनि १२ दिन छुट्याएर विपश्यना ध्यानमा जाँदा जे कुरा पाउन सकिन्छ त्यो कुनै प्रवचन सुनेर, शैक्षिक डिग्री वा तालिम लिएर, किताव पढेर वा अन्य कुनै कुराबाट प्राप्त गर्न सिकंदैन । यो साधनामा कुनै पनि किसिमको अन्धविश्वास वा कल्पनाको कुरा गरिंदैन । यो त बोधिको मार्ग हो, सत्यको मार्ग हो, ज्ञानको मार्ग हो, आफै तप्ने र मनलाई निर्मल बनाउने पुरुषार्थको मार्ग हो । जिवन जिउने मार्ग हो ।
विपश्यना साधनालाई जनजनमा पुर्याएर विश्वव्यापी बनाउनु हुने गुरु गोयन्का त भौतिक रुपमा यो संसारमा हुनुहुन्न । तर पनि वहाँबाट दिक्षित भएका स्वयंसेवी सहायक शिक्षकहरुले यो साधनालाई जिवन्त राख्नु भएको छ । संसारभरीका सबै विपश्यना केन्द्रहरुमा सहायक शिक्षकहरुले गुरु गोयन्काले सिकाउनु भएको ध्यानका विधिहरुको श्रब्य सामाग्री बजाएर साधकहरुलाई ध्यान सिकाउने गर्नु हुन्छ । साधकहरुमा कुनै प्रश्नहरु भएमा निश्चित समयमा सहायक शिक्षकहरुसंग सोधेर लाभ लिन सक्दछन् ।
यो साधनाको लागि १२ दिन सम्म खाने, बस्ने, ध्यान गर्ने सबै नि:शुल्क रुपमा प्रबन्ध गरिएको हुन्छ । अर्काको सित्तैमा खानु, सित्तैमा कुनै पनि सेवालिनु हुँदैन भन्ने पूर्वीय मान्यता हो । त्यस्तै आफूले सित्तैमा त्यस्तो अलौकिक साधना गरियो भने यो परम्परा जिवित रहनु पर्दछ र आर्थिक रुपमा कमजोर भएकाहरुले पनि यो साधना गर्न पाउनु पर्छ । साधनाको १० दिन पछि जव आर्यमौन तोडिन्छ सबैमा एउटा छुट्टै अनुभव हुन्छ । साधकहरुलाई आफ्नो इच्छा र गच्छे अनुसारको रकम दान गर्न सक्ने व्यवस्था मिलाइएको हुन्छ ।
हरेक दिन सांझ ७ वजे देखि करिव एक घण्टाको प्रवचनको भिडियो बजाइन्छ। साधकहरुलाई उर्जा प्रदान गर्दछ । हिन्दी वा अंग्रेजी भाषामा सत्यनारायण गोयन्काले दिनु भएको प्रवचनको भिडियो हेर्न सकिन्छ, नेपाली, नेवारी अन्य भाषामा अनुवादित श्रव्य सामाग्री पनि सुन्न सकिन्छ । गुरु गोएन्काले प्रवचनका क्रममा बुद्ध धर्मका उपदेश, बुद्धका समयमा भएका घटनाहरुको कथा आदि सुनाउनु हुन्छ। १० दिन सम्म वेग्ला वेग्लै प्रवचनको भिडियो बजाइन्छ। अति प्रष्ट, राम्रो उदाहरणहरु दिएर भनिएको प्रवचन सुनीरहुं जस्तो लाग्दछ। दिनमा पनि कतिवेला सांझपर्ला र फेरी प्रवचन सुन्न पाइएला जस्तो हुन्छ। प्रवचनको सार कुरा, मानिसमा अहंपन र माया मोह (एट्याचमेन्ट) नै दुःखको मुख्य कारण हो। त्यस्तै भौतिक चिजहरु संग्रह गर्ने, प्राप्तगर्ने अभिलाषा, आफु सधै ठिक आफु वाहेक अरु सबै गलत भन्ने सोचाई पनि दुःखको अर्को कारण हो। कुनै सुखदकुरा भएमा त्यसमा अति नै रमाई रहने र दुःख भएमा चिन्तित हुनु पनि दुःखको कारण हो। सुख दुःख सबै अवस्थामा समान दृष्टि, समान व्यवहार गर्न सके जिवन उत्तम हुन्छ। नियम पूर्वक आय आर्जन गर्नु, परिवार पाल्नु, अलिकति सहयोग समाजमा पनि गर्नु, झुठो नबोल्नु, सबै प्राणीमा दया माया गर्नु, कुनै कुरामा तुरुन्त प्रतिक्रिया नदिइहाल्नु, सोचेर सम्झेर विचार गरेर मात्र केहि बोल्नु आदि गरेमा जिवन सुखमय बन्छ र समाज पनि राम्रो बन्छ भनी प्रवचनमा भनिएको छ।
नेपाल, भारत, अमेरिका, ब्रिटेन, न्यूजिल्याण्ड र ताइवान देशका कारागारका बन्दी तथा कर्मचारीहरुलाई विपश्यनाको १० दिने कक्षा दिइएको थियो। दिल्लीको पुलिस भर्नाकेन्द्रमा हजारौं पुलिसहरुले तालिम स्वरुप १० दिने विपश्यना कक्षा लिएका छन्। भारतको दुईवटा कारागारमा स्थायी विपश्यना केन्द्र छन् जसबाट दशहजार भन्दा बढी कैदीहरुले तालिम लिईसकेकाछन्। विपश्यनाको १० दिने ध्यान बर्माको एउटा सरकारी मन्त्रालयले सबै कर्मचारीहरुलाई लिन लगाएको थियो जसबाट उक्त मन्त्रालयम अनिमियतता पूर्णरुपमा निर्मूल भयो। सन् २००० मा, नेशनल इन्स्टिच्यूट अफ हेल्थ ले यूनिभर्सिटि अफ वासिङटन, अमेरिका लाई ३ बर्ष सम्म विपश्यना ध्यान पछिको दिर्घकालिन प्रभावको अध्ययन गर्न रकम दिएको थियो। त्यस्तै अलवामा र सनफ्रान्सीस्को जेलमा पनि विपश्यना ध्यानको कक्षा संचालन गरिएको थियो। सन् १९९६ मा, महाराष्ट्र भारतमा कर्मचारीहरुलाई तनावबाट मुक्तिपाउन भनेर हरेक तीन बर्षमा १० दिने विपश्यना कक्षामा सहभागीहुन तलवी विदा दिने व्यवस्था गरिएको थियो।
विपश्यना ध्यानको आज पश्चिमि मुलुकमा व्यापक प्रचार भएको छ। यसको उपयोगीता र तुरुन्त प्रभाव पार्ने भएकाले पश्चिमिदेशमा ध्यानगर्न मानिसहरुको संख्या बढदो छ। भर्खरका विद्यार्थी, कर्मचारी सबै उमेरका मानिसहरुको यसप्रति रुची बढी रहेको। अहिले बिश्वभरमा विपश्यना केन्द्र २३० वटा छन। भारतमा मात्र १०८ वटा छन। नेपालमा १५ वटा विपश्यना ध्यान केन्द्रहरु छन।
मेरो अनुभब;
पहिलो दिन निन्द्रा रातको १;३० बजेसम्म पटक्कै लागेन। बिहान ४ बजे जुरुक्क उठनुपर्ने घण्टी बज्यो उठनै पर्यो। फ्रेस भयर ४:३० भित्र धम्म हल ( सामुहिक साधना गर्ने हल) तिर लागियो। पटक–पटक गरी दिनमा १० घण्टा बसेर ध्यान गर्नुपर्दछ। एक अर्कासँग कुराकानी गर्न पाइँदैन। आर्य मौन Noble Silence, शिल पुर्ण पालना अनिबार्य नै छ। दोस्रो दिन, तेस्रो दिन, चौथो दिन एबम रितले सबैदिनहरु ध्यान गर्दागर्दै गय। कतिखेर गय थाहै नहुने। हरेक दिनपछिको अर्को दिन अलि सहज संगै गार्हो साथसाथ केहि नयाँ अनुभब हुदै जान्छ। तिन दिनसम्म श्वास:प्रश्वास आनापानाको खेल खेलिसकेपछि चौथो दिन खुबै महत्वको दिन हुनेरहेछ। विपश्यनाको दिन यसमा संबेदनाको खेल खेलिनेरहेछ। अधिष्ठान आसनमा घन्टौ सम्म बस्नै पर्ने भयकाले निकै गार्हो भयको थियो। पक्कै पनि शुरुको चार–पाँच दिनसम्म धेरै नै गाह्रो भएको थियो । प्रायःलाई गाह्रो नै हुने रहेछ । मनलाई नियन्त्रण गर्नु आफैंमा चुनौतीपूर्ण कार्य हो । तर विस्तारै आचार्यहरूको मार्गदर्शन अनुसार चल्दा पछिल्ला दिनहरूमा चञ्चल मन एकाग्र हुन थालेको थियो । जब दशौं दिनमा पुगियो आर्यमौन तोडने दिन सबैका लागि खुसिको दिन, सबै बोल्न थाले आफाफ्ना अनुभव सुनाउन थाले, यसो हेर्दा एककिसिमको कोलाहल जस्तै सुनिन्थ्यो। मलाई खास्सै फरक परेन म आफैमा कम बोल्ने, धेरै बोल्न नरुचाउने भयर होला मौन अबधि नै गज्जब लाग्या थियो। करिब दुईसय बढी महिला, पुरुष सहभागी मध्य ७/८ जनाले विविध कारणले छोडेर जानुभय छ। भर्खरको युवा देखि ६५-७० बर्षका बुढासम्म शिबिरमा सहभागि थिय। अमेरिका, बर्मा, स्पेन, भारत लगायतका थुप्रै देशका साधक साधिका पनि बिपश्यना ध्यान गर्न आयको देख्दा लाग्यो के यो बिधि हामि नेपालिको पहुँचमा छ ? के मेरो समाजले यसलाई बुझेको छ ? भनेर आफैलाई प्रश्न पनि गरे। डक्टर, उपसचिब, ईन्जिनियर, बिध्यार्थि लगायतका थुप्रै खालका राम्रो पढेलेखेका, बुझेका मान्छेको बाक्लो सहभागिता देख्दा म सोच्न बाध्य भय कास मेरो गाउँ खप्तडछान्नामा एकपटक यो शिबिर चलाउन पाय क्या गज्जब हुन्थ्यो होला है।
म खुसि छु। मेरो अनुभबले भन्छ एघारौं दिनमा चञ्चल मन शान्त र मेरो वशमा थियो । झनक्क उठ्ने रिस विस्तारै नियन्त्रणमा आएको थियो । सुख–दुःखको अवस्थामा तटस्थ भावले हेर्न सक्ने अवस्था आएको थियो । करुणा, मैत्रीभाब मनमा उत्पन्न हुन्थ्यो। जुन आज पनि छँदैछ। त्यसैले विपश्यनाबाट मानिसको जीवनमा आउने परिवर्तन मैले स्वयं अनुभव गर्न पाएको छु । यहि बिचमा मेरो जन्मदिन July7 मा यो बर्ष आफुले आफैलाई मनमनै ह्याप्पि बर्थ डे केटो भनेर मनाइयो। स्मरणीय रहन गयो।
अब अन्तिममा;
हामि यस्तो देशको नागरिक हौं जुन देशमा आफ्नो भबिश्य सुनिश्चित, सुन्दर देख्दैनौ। यहाँका नागरिक कतिसम्म समस्यामा, डिप्रेसनमा, दुखमा, चिन्तामा होलान सजिलै अनुमान गर्न सकिन्छ। म १२ दिनको लागि सम्पर्क बिहिन के भयको थिय प्रचण्ड बाट केपि ओलि प्रधानमन्त्री भयको देख्दा अचम्मित भय। नेपाल भन्ने देशमा द्रुत गतिमा परिबर्तन देश होइन सरकार मात्र हुन सक्छ। यस्तो अस्थिरता भयको देशमा तपाई हाम्रो जिबनलाई अलिकति भयपनि शान्त, सुन्दर, करुणा, मैत्रीभाब भयको समाज बनाउन विपश्यनाले मद्दत गर्छ।
म यो कुरा किन लेख्दैछु थाहा छ तपाईलाई ? किनभने म यतिबेला मेरो समाजको चित्र आँखा अगाडि हेर्दैछु। खप्तडछान्ना गाउँपालिकाको जनजिबन, हामि बाँचेको जिबन, जगत हाम्रो समाजको शैलि, सोच के ठिक छ ? अहं छैन। पटक्कै छैन। पहिला आफ्नै गाउँठाउँ सुर्धियोस, परिबर्तन होस भन्ने लाग्दोरैछ। मेरो समाजको यथार्थलाई सम्झदा यो विधि मेरो समाजलाई आबश्यक छ भन्ने महसुस भयर लेख्दैछु। यो ध्यान विधिको बारेमा त्यहाँको नेतृत्वले केहि सोच्छकि ? भन्ने आशा भाबले मात्र हो। सामाजिक मान्छे कति बिग्रो, बिग्रेन भन्नलाई त्यहाँको खोला, नदि, प्राकृतिक बाताबरण, पर्यावरण हेरे मात्र पनि पुग्छ। प्रकृतिप्रेमि समाज हाम्रो छ त ? अब के गर्ने ? हाम्रो समाज अध्यात्म संग जोडिनु पर्छ भन्ने ज्ञान छैन, त्यो किसिमको संस्कार, अभ्यास, बाताबरण छैन यो कुराको महसुस गर्न ढिला गर्नु हुन्न। मनलाई लगाम अथवा ब्रेक लगाउने एकमात्र उपाय ध्यान Meditation नै भयकोले आजको समाज जिबनलाई अध्यात्म (आफैतिर फर्केर हेर्ने) समाजको सन्तुलन मिलाउन सक्यौ भने मात्र मानिस खुसि हुन सक्छ। म चाहन्छु मेरो गाउँपालिकामा हरेक बर्ष एकपटक विपश्यना ध्यान शिबिरको आयोजना होस। यसको प्रबन्ध गाउँपालिकाले गरोस। यसको महत्वलाई त्यो समाजले बुझोस। भोलिका दिनमा यस्ता ध्यान शिबिरको आबस्यकता महसुस त्यो समाजले आफै गर्छ। विपश्यना ध्यानको अदभूत अनुभब त्यो समाजले लिन पाओस। मेरो गाउँपालिका नेतृत्वलाई वा अध्यक्ष उत्तम रोकायालाई मेरो यो बिशेष अनुरोध हो। यो कुरा मान्नुहोस या नमान्नुहोस तर एकपटक अबस्य बुझ्नु होला।
१२ दिन समय निकाल्नु र त्यसमा पनि मौन रहनु, मोबाइलबाट टाढा रहनु, एकान्त वास बस्नु धेरैका लागि महाभारत हुन सक्छ । तर जिन्दगी बदल्नका लागि भने यो साधनाले धेरै सहयोग गर्ने मेरो ठम्याई छ ।
तत्काल प्रतिक्रिया जनाउने, चर्को आवाजमा बोल्ने, केही राम्रो प्राप्ति हुँदा हौसिने र सानो दुःख पर्दा निकै मर्माहत हुने जस्ता वानी व्यवहारमा त सुधार हुन्छ नै, अझ साधनालाई निरन्तरता दिन सकियो भने सञ्चित रहेका क्लेशहरू पनि पग्लँदै जाने र हाम्रो मन सफा हुँदै जाने हुन्छ । विवेकपूर्ण निर्णय गर्ने क्षमतामा वृद्धि हुन्छ । साधनाले सबैलाई दिने लाभ एउटै हो । तर पनि साधकले आर्यमौन कत्तिको पालना गर्यो, निष्ठा पूर्वक साधना गर्यो कि गरेन, पहिलो पटक सहभागी हो कि दोश्रो वा धेरै पटक जस्ता विविध कुराहरुले पनि प्रभाव पार्ने गर्दछ । धेरैलाई साधना पुरा गरेपछि जिउ नै फुर्तिलो हुने, मस्तिष्क चंगा हुने, नयाँ जोश र जाँगर भरिएर आउने, मनमा रहेको अनुत्तरित धेरै प्रश्नहरुको उत्तर मिलेको अनुभूति हुने गर्दछ ।
सुख, दु:ख, धन सम्पत्ति, बैभव, अभाव, प्रशंसा, प्रतिष्ठा, निन्दा, अपहेलना जस्ता सबै घटनाहरु अनित्य छन्, परिवर्तनशील छन् भन्ने अनुभूति हुन्छ । यस साधनाबाट मानिसले शान्ति प्राप्त गर्दछ, सुखी र आनन्दको जिवन निर्वाह गर्न सक्दछ । दिमागमा भएका सारा विकारहरुलई सफा गरेर आफ्नो मनलाई निर्मल बनाउन सक्दछ । यस्तो अलौकिक साधनाबाट सबैको कल्याण होस् । स्वस्ती मुक्ति होस् । भवतु सब्ब मंगलम् ।
पर्पल थ्ट , खप्तड आवाज डट कमका सम्पादक हुन ।