बझाङ । खप्तडछान्ना गाउँपालिकालाई १६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै बुधबार एक समारोहका बीच खप्तडछान्ना गाउँपालिका पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा भएको हो ।
खप्तडछान्ना गाउँपालिका स्वास्थ शाखा प्रमुख सुरेन्द्र रोकायाका अनुसार पालिकाका ७ वटै वडामा घरधुरी सर्वेक्षण गरी जन्मेदेखि १५ महिना मुनिका सबै बालबालिकाले पाउनुपर्ने पूर्ण खोप पाएको सुनिश्चित भएको हो । सबै बालबालिकालाई खोपको पहुचमा पुर्याइ वडा स्तरमा रहेका स्वास्थ चौकी र गाउघर क्लिनिक मार्फत खोप लगाइएको थियो ।
गाउँपालिकाको सभाहलमा आज बुधबार गाउँपालिका उपाध्यक्ष बिष्णु थापाको अध्यक्षतामा भएको कार्यक्रममा पालिका भित्रका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका लगायत सरोकारवालाको उपस्थिती रहेको थियोे ।१६ महिनादेखि १६ वर्षमुनिका बालबालिकाले बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेप–बी, दादुरा–रुवेला र जापनीज इन्सेफलाइटिस विरुद्धका विभिन्न चरणका खोप समय तालिकाभित्र प्राप्त गरेपछि पूर्ण खोप पाएको मानिन्छ ।
स्थानीय सरकार संचालन ऐन, ०७४ को परिच्छेद ३ मा गाउँपालिका÷नगरपालिकाको काम, कर्तब्य र अधिकार तथा वडा समितिको काम, कर्तब्य र अधिकार भित्र आधारभूत स्वास्थ्य सेवा अन्र्तगत खोप सेवा संञ्चालनको ब्यवस्था गरेको छ ।