खप्तडछान्ना गाउँपालिका – २ मा सञ्चालित कृषक पाठशाला कार्यक्रमको समापन

  कल्पना उपाध्याय  473 पटक हेरिएको

बझाङ । खप्तडछान्ना गाउँपालिका वडा नम्बर २ देहलीमा सञ्चालन भएको आलुबाली उत्पादन कृषक पाठशालाको समापन भएको छ । कृषि ज्ञान केन्द्र बझाङको आयोजनामा गत माघ १४ गतेदेखी सञ्चालन गरिएको उक्त पाठशाला कार्यक्रम आज बुधबार एक औपचारीक कार्यक्रमका बिच समापन गरिएको हो ।

देहली गाउँमा रहेको खापरदेव कृषक पाठशालाले गाउँको करीब आधा रोपनी खेतीयोग्य जमिनमा विभिन्न जातका आलुहरु लगाएर उत्पादन परीक्षण गरेको थियो । अहिले उक्त ठाउँमा आलुको राम्रो उत्पादन भएपछि पाठशालामा आवद्ध किसानहरु खुशी भएका छन् । यो कार्य एउटा सुरुवात मात्रै भएको र अब आफुहरुले व्यवसायीक रुपमा आलु लगाएतका अन्य तरकारीखेती गर्ने खापरदेव कृषक पाठशालाका सचिव कर्ण थापाले बताउनुभयो ।

कृषक पाठशालाको समापन कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर विष्टले अभियानलाई एउटा आन्दोलनकोरुपमा अगाडि बढाउन आग्रह गर्दै यस आन्दोलनलाई प्रत्येक घर घरमा पु¥याउन आवश्यक रहेको बताउनुभयो । उहाँले सबै किसानहरुले योजनावद्ध कृषि गर्न सकेमा कोहि पनि बेरोजगार भएर बस्नु नपर्ने बताउनुभयो । खप्तडछान्ना गाउँपालिका आफैमा पनि कृषिको लागि राम्रो सम्भावना भएको क्षेत्र भएकाले किसानहरुले थोरै मिहेनतमा पनि राम्रो आम्दानी गर्नसक्ने विष्टको भनाई छ । उहाँले हाम्रो समाजमा जिविका चलाउनकै लागि पुरुषहरु विदेशिनु पर्ने र महिलाहरु प्नि चुलोचौकोमै सिमित रहने हुँदा खेतीयोग्य जमिन बाँजो रहेको बताउनुभयो । आयआर्जन बढाउने र आत्मनिर्भर हुने सजिलो माध्यम तरकारी खेती रहेको बताउदै उहाँले गाउँमै सडक सञ्जाल जोडिएको र बजारीकरणमा पनि त्यति समस्या नरहेकाले किसानलाई तरकारीखेती तर्फ लाग्न आग्रह गर्नुभयो ।

यस्तै कृषि ज्ञान केन्द्रका कृषि अधिकृत मदनराज जोशीले वडाभित्र रहेका बाझो जमिनहरुलाई क्रमशः खेतियोग्य बनाउन लाग्नुपर्ने बताउनुभयो । उहाँले कृषकहरुले उत्पादन गरेका कुनैपनि बस्तु बजारको अभावमा फाल्नुपर्ने अवस्था नआउने बताउदै उत्पादित वस्तुको बजारीकरणका लागि कृषि ज्ञान केन्दले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै पाठशालाका सदस्यहरुले आफुले कार्यक्रमबाट धेरै कुरा सिक्न पाएकोमा खुशी व्यक्त गरे । उनिहरुले आफुलाई यस्ता कार्यक्रम, सल्लाह र सहजिकरणले निकै मनोबल बढाउनुका साथै निरन्तर कृषि पेशामा लागिरहन प्रोत्साहन मिलेको बताए ।

खापरदेव कृषक पाठशालाका अध्यक्ष धनलक्ष्मी रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर विष्ट, कृषि अधिकृत मदनराज जोशी, गाउँपालिका कृषि शाखा प्रमुख गौरीशंकर रोकाया, वडा सदस्य, सहजकर्ताहरु, पत्रकार लगाएत पाठशालाका सम्पुर्ण सदस्यहरुको सहभागिता रहेको थियो ।

पाठशालाको सहजकर्तामा पुस्कर रावल र सुलोचना थापा रहनुभएको थियो । कार्यक्रमको लागि कृषि ज्ञान केन्द्र बझाङले सहजीकरण गरेको थियो । पाठशाला अवधिभर भइगरेका कार्यक्रमहरुको प्रगति प्रतिवेदन प्रस्तुत पाठशाला सदस्य सपना थापाले गर्नुभएको थियो । पाठशालाका सदस्यहरुलाई प्रमाणपत्रहरु प्रदान गरिएको थियो भने कार्यक्रममा विभिन्न जनचेतनामुलक देउडागितहरु पनि प्रस्तुत गरिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार