छाडा पशुचौपायाले चैनपुरमा दुर्घटनाको जोखिम

नगरपालिका मौन

  सत्यराज सिंह  552 पटक हेरिएको

बझाङ्ग । बझाङको सदरमुकाम चैनपुरमा छाडा पशुचौपाया बढेका छन् । विहानतिर सेती नदीको छालमा र बेलुका चैनपुर बजारको चौराहादेखि खुल्ला मञ्चसम्म र शान्ति मार्ग रोडको पान्कोटसम्म राति सडकमा छाडा पशुचौपायाहरु बढ्न थालेपछि छाडा पशुचौपायाले गर्दा यातायातका साधनहरु जाम हुनुका साथै पैदल हिड्ने यात्रुलाई पनि समस्या हुने गरेको छ ।

छाडा पशुचौपायाकै कारण सदरमुकाम चैनपुरमा दुर्घटनाको जोखिम बढेको छ । रातिमात्रै होइन, विहान अवेरसम्म पनी यातायातका साधनहरु बजार क्षेत्रमा आउदा बाटो नछाड्ने, बीच सडकमा बस्ने गरेकाले दुर्घटना बढ्न सक्ने स्थानीयहरु बताउँछन् । नगरपालिकाले पनि छाडा पशुचौपाया नियन्त्रणका लागि कुनै पहल नगरेको समेत स्थानीयको आरोप छ ।

साँघुरो चैनपुर बजारमा जिल्लाका ग्रामीण क्षेत्रबाट लुकिछिपी बूढा र रोगी गाईगोरू छोड्ने चलन बढेपछि बजार क्षेत्रमा देखिने पशुचौपायका कारण सवारी जाम र दुर्घटनाको जोखिम बढेको हो । सडकमा पशुचौपायाको संख्या ह्वात्तै बढे पनि दीर्घकालीन व्यवस्थापनका लागि कुनै पनि निकायले ध्यान दिन नसक्दा छाडा पशुचौपाया चुनौतीको रूपमा देखिएका छन् ।

सवारी साधनको चापका कारण पैदल यात्रुलाई आवतजावतमा समस्या भइरहेको अवस्थामा जयपृथ्वी नगरपालिकाको डुग्री, गोलाइ, भोपुर र सिमखेत लगायतका क्षेत्रबाट छाडाचौपाया भित्रिन थालेपछि दुर्घटनाका साथै तरकारी तथा फलफूल व्यवसायीलाई समेत असर गरेको चैनपुर बजारबासीहरु बताउँछन् ।

‘छाडाचौपायाले दैनिक क्षति पुर्याउने गरेका छन्,’ जयपृथ्वी नगरपालिका–१० का क्षीतिज पालले भने, ‘चौपायाकै कारण दुर्घटनासमेत हुने गरेको छ ।’ चैनपुर बजारको चौराहादेखि खुल्ला मञ्चसम्म र शान्ति मार्ग रोडको पान्कोट बासीले व्यवस्थापनका लागि नगरपालिकाको पटक–पटक ध्यानार्कषण गराउँदासमेत नगरपालिकाले व्यवस्थापनमा चासो देखाएको छैन ।

दिनभरि बजारका चोक, गल्ली–गल्लीमा देखिने छाडा चौपाया साँझ परेपछि चैनपुर बजारको चौराहादेखि खुल्ला मञ्चसम्म र शान्ति मार्ग रोडको पान्कोट रोडमा बस्ने गरेका स्थानीय बसन्त खड्काले बताए । उनले नगरपालिका र वडास्तरबाटै चौपायाको व्यवस्थापनका लागि प्रयास गर्नुपर्ने बताए ।

यता जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्रबहादुर खड्काले छाडा चौपाया व्यवस्थापन चुनौतीपूर्ण भए पनि प्रयास जारी रहेको बताए । ‘पशुधनीको पहिचानमै समस्या भइरहेको छ,’ मेयरले भने, ‘छाडा चौपाया लैजान तथा ब्यवस्थापन गर्न पशुधनीहरुलाइ सूचना जारी गर्ने नमानेमा नगरपालिकाको निर्णय अनुसार अगाडी बढ्छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार