बझाङ ; माओवादी केन्द्र बझाङबाट प्रदेशसभा सदस्यमा बिजयी भीमबहादुर तेस्रो पटक गरिएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशको सभामुखखमा निर्वाचित भएका छन् । मंगलबार ५२ जना प्रदेश सभा सदस्यले मंगलबार मतदान गरेका छन्। जसमा नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेश सभा सदस्यहरुले भण्डारीको पक्षमा मतदान गरेपछि उनी २९ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएका प्रदेश सभा सचिवालयले जनाएको छ ।
काँग्रेसका उम्मेदवार मानबहादुर रावलले २३ मत पाएका छन्। यसअघि २८ पुस र ३० पुसमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन। २८ पुसमा भएको निर्वाचनमा नागरिक उन्मुक्ति र एमालेका एक–एक सांसद अनुपस्थित र एउटा मत बदर भएपछि भण्डारीलाई बहुमत पुगेको थिएन ।
३० पुसमा भएको चुनावमा नागरिक उन्मुक्ति तटस्थ बसिदिएको थियो। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिइसकेकी थिइन् । सुदूरपश्चिममा काँग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, राप्रपाका एक तथा एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन् ।