बझाङ ः नेत्र विक्रम चन्द विप्लव नेतृत्वको (नेकपा) का कार्यकर्ताले एक शिक्षकलाई कालोमोसो दलेका छन् । बझाङको छविसपाथिभेरा गाउँपालिका– ७ स्थित मजखोरी माध्यमिक विद्यालयका शिक्षक जनक बोहरालाई विप्लव कार्यकर्ताले कालोमोसो दलेका हुन् । आइतबार आर्थिक अनियमिततामा मुछिएको र आफ्नो आन्दोलनको विरोध गरेको भन्दै विप्लव कार्यकर्ताले कालोमोसो दलेको एक विप्लव कार्यकर्ताले बताए । ‘शिक्षक बोहोरा विद्यालयको प्रधानाध्यापक हुँदा ठुलो आर्थिक रकम भ्रष्टाचार गरेको छन् । शैक्षिक गुणस्तर ध्वस्त पारेको छन् । साथै हामीले अहिले देशव्यापी रुपमा चुनावी भण्डाफोर अभियान सञ्चालन गरेका छौँ । उनले हामीले बनाएका ब्यानरहरू च्यात्ने गरेका रहेछन् । त्यसैले हामीले कारबाही गरेका हौँ,’ ती कार्यकर्ताले भनाई छ । बोहोरालाई दुर्व्यवहार गर्ने व्यक्तिको खोजी गर्न घटनास्थलमा अहिले प्रहरी परिचालन गरेको इलाका प्रहरी कार्यालय विसौनाचौरले जानकारी दिएको छ ।
