दुर्गन्धित बन्दै बझाङको सेती नदि 

  सुनिल मण्डेल  853 पटक हेरिएको

सुनिल मण्डेल बझाङ । बझाङको साईपाल हिमालको काखबाट बग्ने पवित्र सेती नदि दिनहुँ दुर्गन्धित बन्दै गएको छ। जयपृथ्वी नगरपालिका -१० चैनपुर छेउमा बग्ने सेती नदिमा स्थानीयले घरको ढल र प्लाष्टिक जस्ता फोहोर वस्तु फाल्न थालेपछि सेती नदि दिनप्रतिदिन दुर्गन्धित बन्न थालेको हो।
सदरमुकाम चैनपुर आसपासका क्षेत्रबाट सेती नदिमा बढि फोहोर फालिएको सहजै देखिन्छ। शौचालयको ढल र बजारको फोहोर सिधै सेति नदिमा मिसाइएको देखिएको छ। धार्मिक आस्था बोकेको पवित्र सेति नदिमा फोहोर थुप्रिन थालेपछि पानीको सुद्धता हराउँदै नदिमा क्षारीयपना बढ्दै गएको छ। यस्तै पानीमा फोहोरको मात्रा बढ्दै जाँदा नदिमा बस्ने जलचर प्राणीहरु हराउँदै जान थालेका छन्। जलचरको लागि फोहोर र प्लाष्टिक हानिकारक हो। अहिले थोरै देखिने जलचरहरु केहि वर्षमा नभेटिन सक्ने स्थानियको भनाई छ।
बझाङ जिल्लाको सदरमुकाम चैनपुर देखि केदारस्युँ गाउँपालिकाको देउरा बजार सम्म मात्र झण्डै ठुलो जनसंख्याले सेति नदीको प्रयोग गर्ने गर्छन्। नदि किनारका स्थानीय सेती नदिको पानीमा नुहाउने, गाई वस्तुलाई पानी खुवाउने, बालुवा झिक्ने, दाउँरा संकलन गर्ने जस्ता काम यहि नदीमा गर्ने गर्छन्।
सेती नदिमा फोहोरको मात्रा बढ्दै जाँदा पानी जन्य जलचरहरु, मानव समुदायलाई भविष्यममा गम्भीर असर पर्ने देखिन सक्छ, केदारस्युँ गाउँपालिका वडा नं. १ का स्थानीय धनबहादुर भण्डारीले भने – ‘यस्तो पवित्र पानीमा फोहोर फालेपछि यसको असर बझाङ लगायत अन्य जिल्लाका नागरिकलाई पनि पर्छ । अहिले पनि बझाङको सदरमुकाम चैनपुर देखि अन्य सेती नदि किनारका स्थानीय दिनहुँ त्यहि नदीको किनारमा गएर नुहाउँने र कपडा धुने गर्छन्।’
घरको धारामा पानी आउँदैन्, नुहाउन र लुगा धुन त्यहि सेतिनदिमै जानुपर्छ, चैनपुरमा डेरामा बस्दै आएकी कल्पना उपाध्यायले भनिन् । ‘सेतीनदिमा न नुहाएर कहाँ जानु? फोहोर देख्छौं तर, नदिको पानी सफा हुन्छ भन्ने विश्वासले यहि नुहाउने गरेका छौं, उनले भनिन् । चैनपुर बजारमा पानी नआउँदा स्थानीयले बाध्य भएर सेतिनदिकै पानी प्रयोग गर्नुपरेको बताउँछन् ।
खोलानदीको संरक्षण र सरसफाइको जिम्मेवारी स्थानीय तहको हो। खोलामा सोझै फोहोर फाल्न नपाउने कानुनी व्यवस्था छ। ठोस फोहोर तथा ढल प्रशोधन नगरी नदि खोलामा हाल्न पाइन्न। तर जिल्लाकै ठूलो बजार  सदरमुकाम चैनपुरमा  संकलित फोहोर केसलिया खोलाको डिलमा थुपारिँदै आएको छ। त्यसरी फालिएको फोहोर बर्खा लागेसँगै आउने बाढीले बगाउँदा बस्तीमा समेत पस्ने गर्दछ। काग, कुकुरलगायत पन्छी तथा जनावरले पनि नजिकका गाउँबस्तीमा फोहोर लैजाँदा रोगव्याधि फैलिने सम्भावना बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार