बैतडीको दशरथचन्द नगरपालिकामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

  सुनिल मण्डेल  107 पटक हेरिएको

बैतडी । बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बैतडीको दशरथचन्द नगरपालिका- २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल तर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा आइतबार राती दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ४० बर्षीय दीपक मालीको उपचारका लागि धनगढी लैजाँदै गर्दा आइतबार राती बाटोमै मृत्यु भएको प्रहरी प्रवक्ता खड्काले बताए । उनको शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।

जिपमा सवार ५ जनाको भने घटनास्थलमै मृत्यु भएको थियो । दशरथचन्द नगरपालिका- ६ का ४८ बर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ बर्षीय धनबहादुर चन्द, ६५ बर्षीय प्रेमबहादुर चन्द, ६५ बर्षीय तारासिंह थापा र ५८ बर्षीय खेमसिंह कार्कीको घटनास्थलमै मृत्यु भएको प्रवक्ता खड्काले बताए । उनीहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।

दुर्घटनामा परेर दशरथचन्द नगरपालिका ६ का ४८ बर्षीय हर्कबहादुर चन्द गम्भीर घाइते भएका र उनलाई थप उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । जिप सडकबाट करिब सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार