धौलिगाड खोलामा पुल नहुँदा सास्ती,स्थानीयवासी जोखिमपूर्ण रुपमा यात्रा गर्न बाध्य

पुल निर्माण गर्न पहल चालेको वडाअध्यक्ष मण्डेलको भनाई

  खप्तड संवाददाता  212 पटक हेरिएको

सुनिल मण्डेल बझाङ । बझाङको छबिस पाथिभेरा गाउँपालिका-७ स्थित भैंसीओढारको धौलिगाड खोलामा पुल नहुँदा यो क्षेत्रका स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । वर्षौंदेखि धौलिगाड खोलामा पुल नहुँदा छबिस पाथिभेरा गाउँपालिका –७ का स्थानीयवासी जोखिमपूर्णरुपमा यात्रा गर्न बाध्य भएका हुन् ।
सुख्खा मौसममा भन्दा वर्षायामको समयमा खोला तर्न ठूलो समस्या हुनेगरेको स्थानीयवासीले बताएका छन् । पुल निर्माणका लागि पटकपटक आग्रह गरे पनि हालसम्म पुल निर्माण नभएको स्थानीय ईश्वर बोहराले बताए।

“वनजंगल जान र घाँस दाउरा ल्याउनको लागि धौलिगाड खोला तरेर वारपार गर्नुपर्ने हुन्छ”, भैंसीओढार टोलका बासिन्दा ईश्वर बोहराले भने, “वर्षात्को समयमा खोलामा धेरै पानी हुन्छ, ज्यान नै बाजीमा राखेर ओहोरदोहोर गर्नुपर्ने बाध्यता हुने गरेको छ ।” खोलामा पुल नभएकाले गाउँदेखि टाढामा रहेको विद्यालय पुग्ने बालबालिका होस् वा अन्य गाउँ सम्म जाने मान्छेलाई समेत ठूलै सकस भइरहेको उनको दुखेसो छ ।

धौलिगाड खोलामा पुल नहुँदा वर्षायामका बेला गैरिलेख गाउँका बिरामीलाई अस्पतालसम्म लैजान असाध्यै कठिनाइ हुने गरेको पनि बोहराले बताए । पुलको समस्याबारे पटकपटक जनप्रतिनिधिदेखि स्थानीय सरकारबाट आवश्वासन बाहेक केही नपाएको स्थानीयवासीको गुनासो छ ।

यता छबीस पाथिभेरा गाउँपालिका वडा नं ७ का वडाध्यक्ष पदम बहादुर मण्डेलले “धौलिगाड खोलामा छिट्टै पुल निर्माण गर्न पहल चालेको र बजेटका लागि सङ्घीय सरकार र प्रदेश सरकारमा पेश गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार