बाढी पिडितको चित्कार , न रह्यो गास न रह्यो बास(फोटो फिचर)

राहत तथा पुनंरनिर्माणमा सरकारी उदासिनता

  शैलेन्द्र रोकाया  303 पटक हेरिएको


बझाङ । बाढीले बगर बनाएको छेउमा बचेको सानो टुक्रा खेतमा हलो जोति रहेका खप्तड छान्ना–१का अम्मर बि.क.ले भन्नुभयो, “बाढीले सर्वस्व लुट्यो , आफ्नै कमाई एक खेत थियो त्यो पनि हेर्दा हेर्दै बगरमा परिणत भयो । अब के गरि खाने हो , न त गाउँमा कुनै रोजगारीको ब्यवस्था छ न त खानलाई अन्न छ ”। उहाँले भन्नुभयो, यो खेत पनि उरुको (मात हालेको)केही समयका पैसा दिएर किनेको खेत हो, यो पनि बगायो । धान भित्र्याएर गहु छर्ने तयारीमा रहेका यहाँका किसानका सयौ हेक्टर उर्वर भुमी एका एक बगर बने पछि बि.क. जस्तै खप्तड छान्नाका झण्डै एक सय भन्दा बढी परिबारको बाढीले उठिबास लगाएको छ ।


खाती गाउँको अगाडी रमाईलो जिउलो , पारी पट्टी गाउँलाई उज्यालो बनाउने जलबिद्युत आयोजना र गाउँ संगै जोडिएको निमाबि स्कुल र गाउँ नजिकै स्वास्थ्य इकाई अनि मिलेको भुभाग थियो । खाती गाउँका स्थानीय त्याहाँ आएको दशौ पुस्ता बित्दा सम्म समेत त्यस्तो कुनै पनि बिपत्ती बेहोर्नु परेको थिएन् । खाती गाउँबासीको दैनिकी मज्जाले चलि रहेको थियो । खप्तड पर्यटकिय क्षेत्र प्रबेश गर्ने गाउँपालिकाको पहिलो गाउँ पनि भएकाले गाउँपालिकाले समेत एग्रो पर्यटकिय क्षेत्रका रुपमा खाती गाउँ लगायत खप्तड जाने छेउछाउका बस्तीलाई बिकास गर्ने लक्ष लिएको थियो । तर एका एक कात्तिक २ गते खातीगाउँबासीका लागी अभिसाप साबित भयो ।
नपत्याउने खोलाले यसरी बगाएर लिन्छ भन्ने खाती गाउँबासीलाई थाहाँ पनि थिएन् । दुई दिन देखि एकनासले झरि परि रहेको थियो । जडारी गाडमा समान्य भन्दा केही मात्रामा पानीको वहाव बढ्दै थियो । गाउँ भन्दा झण्डै आधा किलो मिटर पर रहेको जडारीगाड गाउँमै पसेर सखाप गर्छ होला भनेर कसैले परिकल्पना समेत गरेका थिएनन् ।

खेती योग्य जमिन कटान गर्दै एकै पटक बाढी गाउँमा पसे पछि खाती गाउँबासीलाई सुरक्षित ठाउँमा जान भागाभाग भयो । खप्तड छान्ना गाउँपालिका –१ का रिने खातीले भन्नुभयो, “मेरो घर त गाड भएको ठाउँबाट झण्डै एक किलो मिटर वरै थियो र अग्लो ठाउँमा पनि । राती खाना खाएर सुतेका थियौ । बिहान ४ बजे तिर जडारी गाडमा पानी सुसाउन छोडे पछि हेर्न आए । गाडमा पानी थिएन् । अब गाड कतै थुनियो होला भन्ने अनुमान गर्न नपाउदै माथी पट्टीबाट फेरि उर्लेर बाढी आउदाँ परिबारका सबै नांगै भोकै भाग्यौ । हेर्दा हेर्दै दुई तले पिल्लर बाला पक्की घर पनि आँखा अगाडी १५ मिनेट भित्रै बगाएर बगर बनायो ”। खाती परिबारले आफ्नो घरबाट भागेर जादाँ आफुले लगाएको लुगा बाहेक केही पनि उद्धार गर्न पाएनन् । उहाँले भन्नुभयो, “मेरो त यो बाढीले सबै लुट्यो , जिवन भरी कमाएको धन सम्पती सुन चाँदी , अन्न लुगा कपडा लगाएत कमाई खाने सबै खेतहरु बगाई सुकुम्बासी बनायो ”। स्थानीय आफन्तको गोठानमा आश्रय लिएर बसी रहेका खाती परिबारको पिडा बेग्लै छ । खाती परिबार संग अहिले बिहान बेलुकीको जोहो गर्न समेत धौ धौ परेको छ । गाउँमा न ज्याला मजदुरी गर्ने उपाय छैन भने न कुनै पनि निकायबाट सहयोग पाएका छन् । उहाँले गहभरी आँशु टिलपिल गर्दै भन्नुभयो, सबै आसा मरि सक्यो , अब जिउदो लास बाहेक केही पनि छैन् । सहयोग गरौला भनेर मन्त्री,मुख्यमन्त्री र सभामुख लगायतका नेताहरु त आए तर अहिले सम्म कसैबाट भरपर्दो सहयोग नपाएको गुनासो सुनाउनुभयो । खाती परिबारको सपना एका एक बाढीले बगाएर लिए पछि उहाँ संग न गास छ , न त जिवन जिउनका लागी केही गर्ने साहस छ । न त उहाँको परिबार संगै कसैले केही गरि देला भन्ने आस छ ।

यो त प्रतिनिधी घटना मात्र हो खप्तड छान्ना गाउँपालिकाका झण्डै ७६ परिबार घरबार बिहिन भएका छन् भने झण्डै दुई सय परिवारको बिचल्ली भएको छ । खाती परिबार जस्तै यहाँका अधिकाशं बाढी पहिरो पिडितको समस्या एउटै हो । जिल्ला कै अन्न उत्पादनका हिसाबले सबै भन्दा राम्रो ठाउँका रुपमा रहेको छान्ना क्षेत्रको सिञ्चीत भु भागको झण्डै ३० प्रतिसत खेतीयोग्य भुमी बगर बनेको छ । खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्क बहादुर रोकायाले भन्नुभयो , झण्डै अब बर्षेनी चार हजार क्युन्टल अन्न बाहिरबाट भित्र्याउनु पर्ने अबस्था आएको छ । यसले छान्ना क्षेत्रको सामाजिक जानजिवनमा समेत धेरै ठूलो असर गरेको छ । उहाँले यस क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरि बगाएका सरकारी तथा गैरसरकारी संरचनाहरुको निर्माण , राहत तथा बस्ती स्थानान्तरण लगायतका एकिकृत प्याकेज सहितको कार्यका लागी सरकार संग माग गरेको बताउनुभयो । यस गाउँपालिकामा कात्तिक २ र ३ को बाढीपहिरोमा परेर दुई जोडी दम्पती सहित ६ जनाले ज्यान गुमाएका छन् भने ३ महिलासहित ९ घाइते छन । ७६ घर क्षतिग्रस्त भएका छन । गाउँपालिकाका अनुसार २३ वटा पसल, ५ वटा कृषिफर्म, सयौंको संख्यामा पाल्तु पशुपक्षी र १० वटा पशुबस्तु सहित घर गोठ बगाएका छन । १० वटाभन्दा बढी गाउँका १ सय ५३ भन्दा बढी घर जोखिममा परेका कारण ७ सयभन्दा बढी मानिसहरू विस्थापनमा परेका छन । १ हजार ७ सय रोपनीभन्दा बढी जग्गा बगाएको खप्तडछान्ना गाउँपालिकाका सूचना अधिकारी ऐन रोकायाले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार