यार्सा संकलन क्षेत्रमा सरसफाई गरियो

हिमाली पर्यावरण सफा हुने

  खप्तड समाचारदाता  240 पटक हेरिएको

बझाङ । जिल्लाको उत्तरी भेगमा पर्ने साइपाल गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा सरसफाई अभियान गरिएको छ । यार्सा संकलन क्षेत्रमा दिन प्रति दिन मान्छेको चाप बढ्दै गएपछि फोहरजन्य पदार्थले यहाँको जैबिक बिविधतामा असर परेको भन्दै हिमाल सरसफाई अभियान गरिएको हो ।
यार्सा संकलन गरिने ठाउँका साथै बाटोमा समेत प्लास्टिकजन्य , सिसा , पुराना लुगाकपाडा , पुराना जुत्ताहरु लगायत अन्य यार्सा संकलन गर्ने ब्यक्तिले फालेको फोहरले हिमालमा प्रदुसण बढेको छ ।

हिमाली क्षेत्रको जैबिक बिविधताका साथै हिमाली पर्यावरण दिन प्रतिदिन बिग्रदै गई बहुमुल्य जडिबुटीको उत्पादन समेत धटेपछि साईपाल गाउँपालिका र साहारा नेपाल नामक गैरसरकारी संस्थाले हिमाल सरसफाई अभियान गरेको हो । साइपाल गाउँपालिका भित्र पर्ने यार्स संकलन क्षेत्र साईपाल हिमालको बेस क्याम्प औलागाड, राइढुङ्गी, माझा, कालाीपानी , फराल खेत चाल्ला बन र साईपाल पाटन क्षेत्रमा फालिएका पुराना लुगाकपडा, जुत्ता, प्लास्टिक, सिसाहरु लगायत अन्य यार्सा संकलनकर्ताहरुले फालेको फोहरलाई खाल्डो खनेर विर्सजन गर्नुका साथै हिमाली पर्यावरणमा यसको असरका बारेमा जनचेतना समेत दिएको छ । गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीको नेतृत्वमा खटिएको टोलीले यार्सा संकलन क्षेत्रमा रहेका प्रत्येक पाल तथा होटेलहरुबाट निस्कने फोहरजन्य पदार्थलाई ब्यवस्थापन गर्नका लागी खाल्डाहरु बनाउनका साथै अस्थाई शौचालय पनि निर्माण गर्न लगाएको छ ।


बर्षेनी साईपाल गाउँपालिकामा रहेका यार्सा संकलन क्षेत्रमा झण्डै १० देखी १५ हजार मान्छे यार्सा टिप्न आउने गरेको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ । ईसीमोड नामक गैरसरकारी संस्थाले गरेको अध्यायनका अनुसार प्रति ब्यक्ति झण्डै चार देखी सात केजी फोहोरजन्य पदार्थहरु हिमालमा छोडेर आउदा झण्डै ९० हजार केजी फोहोर बर्षेनी हिमालमा थुप्रीदै गएको छ । यसका साथै हिमाली बन समेत नासिदै गएको समेत अध्यायनले देखाएको छ । पछिल्लो एक दशक यता झण्डै हिमाली बनको ८१ लाख रुखहरु फडानी गरि दाउराका रुपमा प्रयोग भएको बताईएको छ
यार्सा संकलन क्षेत्रमा फोहरका साथै अन्य मानविय गतिबिधीका कारण पछिल्लो समयमा यार्सा लगायत अन्य बहुमुल्य जडिबुटीहरुको उत्पादन समेत घट्दै गएको साईपाल गाउँपालिका ३का स्थानीय बमबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो , ‘पहिला एकै दिनमा १०० देखि १५० वटासम्म यार्सा पाउथ्यौं । अहिले एक महिनाभरी खोजे पनि त्यति यार्सा पाइँदैन ।’ यार्सामात्र होइन अन्य जडिबुटीहरु कटुकी , बन लसुन , पदमचारो र सतुवा लगायतका अन्य जडिबुटीको उत्पादन समेत घट्दै गएको छ । होटलबाट निस्कने सिसाका बोतल र कुहिने तथा नकुहिने फोहोर थुपिँ्रदै गयो । यार्सा संकलक बोहराले भन्नुभयो, ‘फोहरले वातावरण प्रदुषण भयो । हिउ कम पर्न थाल्यो, पानी कम पर्न थाल्यो, यार्सा र अन्य जडिबुटी समेत लोप हुन थालेको उहाँको तर्क छ ।’

हिमाली क्षेत्रको जैबिक बिविधताका बारेमा जानकार तथा साहारा नेपालका अध्यक्ष ज्ञानबहादुर बोहराले भन्नुभयो ‘फोहरका कारणले गर्दा यहाँको जैविक विविधतालाई नकरात्मक असर पारेको देखिन्छ । अहिलेसम्म हजारौं टन प्लाष्टिकजन्य, सिसाजन्य, पुराना जुताचप्पल र खेर गएका कपडाहरु जताततै फालेका भेटिन्छन् । हिमाली क्षेत्रतिर अहिले जताततै फोहरै फोहर भएको छ । यहि मात्रामा फोहोर थुप्रने हो भने हिमाली क्षेत्रको जैबिक बिविधता समेत संकटमा पर्नुका साथै जडिबुटी समेत लाृप हुने खतरा देखिन्छ । फोहर व्यवस्थापनमा गाउँपालिकाले मात्र नभई आम नागरिकले आफ्नो कर्तव्य ठानेर संरक्षण, व्यवस्थापन गर्न नसके जडिबुटी मात्रै नभएर हिमाली क्षेत्रमा फोहर बाहेक केहि पनि नपाइने अवस्था सिर्जना हुन सक्ने बोहोराको भनाई छ ।
पर्यटकिय सम्भावनाका हिसाबले समेत जिल्लाकै उत्कृष्ट स्थानमा पर्छ । यसको जैबिक बिविधता बचाउन गाउँपालिका मात्र नभई आम नागरिकहरुलाई सचेतना दिन आबस्यक रहेको गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताउनुभयो । उहाँले भन्नुभयो, बर्षेनी हामीले सचेतना दिदै आएको भएपनि यसको संरक्षणका लागी आगामी आर्थिक बर्षमा नितीगत तरिकाले अगाडी बढ्ने बताउनुभयो ।


गाउँपालिकामा बसोवास गर्ने जनसंख्या कम भए पनि यार्सा लगायत अन्य जडिबुटी संकलन क्षेत्र भएकाले बाहिरी जिल्ला तथा अन्य स्थानीय तहबाट पनि धेरै मानिसहरु आउने गरेका छन् । यार्सा संकलनको समयमा साइपाल गाउँपालिकाका हिमाली क्षेत्रमा यार्सा तथा अन्य जडिबुटी संकलन क्षेत्रमा झण्डै पन्ध हजार जनसंख्या पुग्ने गरेको छ ।
गाउँपालिकाले कोरोनाको जोखिम बढ्दै गएपछी यार्सा संकलकहरुलाई कुनै पनि किसिमको समस्या नहोस भनेर यार्सा संकलन परिचय पत्रको पनि व्यवस्था गर्नुका साथै हिमाली क्षेत्रमा स्वास्थ्य परिक्षणका साथै औषधी बितरण समेत गरिएको छ । गाउँपालिकाले यार्सा संकलन क्षेत्रमा यार्सा संकलनकर्तालाई भेला गरेर यार्सा संकलन क्षेत्रहरुमा वातावरण संरक्षण तथा फोहोर व्यवस्थापनका लागि समितिहरु समेत गठन गरेको छ । यार्सा संकलन क्षेत्रमा खोलिएका पसल होटल व्यवसायीहरु तथा यार्सा संकलकहरुलाई आ–आफ्नो पालको अगाडी फोहर व्यवस्थापनको लागि खाल्डो बनाउन लगाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार