बझाङमा थप दुई कोरोना संक्रमितको मृत्य

मृतकको संख्या ५ पुग्यो

  सुनिल मण्डेल  44 पटक हेरिएको

बझाङ : बझाङमा थप २ जना कोरोना संक्रमितको ज्यान गएको छ । जिल्ला अस्पताल बझाङको कोरोना वार्डमा उपचारको क्रममा रहेकी जयपृथ्वी नगरपालिका वडा नं. ३ की ५५ वर्षिया महिलाको ज्यान गएको हो । सात दिनदेखी विरामी रहेकी महिला आइतबार मात्र जिल्ला अस्पतालमा भर्ना भएकी थिइन् । जिल्ला अस्पतालमा भर्ना भएपछि उनमा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पताल डा. मिलन खड्काले जानकारी दिनुभयो ।

कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पतालमा भर्ना भएकी उनको आइतबार राति ११ बजे ज्यान गएको स्वास्थ्य कार्यालय बझाङका कोरोना सम्पर्क व्यक्ति नारायण प्रसाद जोशीले जानकारी दिनुभयो ।

यसैबीच एक जना अर्का तल्कोटका कोरोना संक्रमितको पनि ज्यान गएको छ । कोरोना संक्रमण पुष्टि भएपछि घर जाने क्रममा बीच बाटोमा नै उनको आइतबार राति १२ बजे ज्यान गएको उनका आफन्तले जनाएका छन् ।

जिल्ला अस्पतालमा १८ गते कोरोना जाँज गराउदाँ रिपोर्ट पोजेटिभ आएको र १९ गते उनी तल्कोट गाँउपालिका वडा नं. १ स्थित घर जानलाई सदरकमुकाम चैनपुरबाट हिडेकी थिइन् । साँझ घर जानेक्रममा अवेर भएपछि उनी आफन्तको घरमा बसेको र राती १२ बजे उनको मृत्यु भएको आफन्तले जनाएका छन् । कोरोना पोजेटिभ भएपछि होम आइसोलेसनमा बस्ने भन्दै उनी अस्पतालबाट निस्किएकी थिइन् ।

घर नआएर आइसोलेसनमा बस्नु भनेर भनेको भएपनि गाडी नै बुक गरेर घर आएको तल्कोट गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष गोपाल धामीले बताउनुभयो । आफूले प्रहरीलाई खबर गरेर घर आउन नदिनु भनेर जानकारी गराएको भए पनि मृतक प्रहरीलाई छलेर घर आएको वडा अध्यक्ष धामीले बताउनु भयो ।

जिल्लामा आइतबारसम्म कोरोना संक्रमणबाट नै ज्यान गुमाउनेको संख्या ५ पुगेको छ भने कोरोना संक्रमित हुनेहरुको संख्या २०४ पुगेको छ । कोरोना संक्रमण बढ्दै गएपछि जिल्लामा सोमबार बिहान १ बजेदेखि बझाङमा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको पुर्ण पालना गर्दै सुरक्षित रहन सबैमा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल बझाङले अनुरोध समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार