बझाङका किसानलाई महामारी भन्दा भोकमरीको चिन्ता

  खप्तड समाचारदाता  102 पटक हेरिएको

बझाङ – बझाङको छविसपाथीभेरा गाँउपालिकाकी रजकला दर्जीलाई चिन्ता थपिएको छ । उहाँको खेतबारी त छैन तर अरुकै खेतमा काम गरेरै भए पनि घरमा धान गहुँ भित्रिन्थ्याे । विगतका वर्षहरुमा छिमेकीहरुको घरमा काम गरेर नै रजकलाले सात जनाको परिवार धानीहरनुभएको थियो । तर यो वर्ष भने उहाँले न त धान गहुँ भित्र्याउन पाउनुभएको छ न त अरु नै अन्न ।

‘यो बेलासम्म अर्काको खेतमा काम गरेरै ३/४ कट्टा गहुँ जम्मा गरी सक्थेँ’, उहाँले निराश भावमा भन्नुभयो, ‘यो वर्ष त एक पाथी पनि जम्मा गर्न सकेको छैन, के खाने होला ।’

खडेरीका कारण खेतबारीमा लगाएको अन्नबाली सबै खेतबारीमै सुकेपछि उहाँलाई मात्रै नभएर यहाँका अधिकांश किसानहरुलाई भोकमरी हुने चिन्ताले पिरोल्न थालेको हो  ।  स्थानीय सुरेश रोकाया कोरोनाको डर भन्दा भोकभोकै मरिने डरले आफूहरुलाई पिरोलीरहेको दुखेसो पोख्नुहुन्छ ।

‘१२ कट्टा गहुँ उत्पादन हुने खेतमा यो वर्ष दुई कट्टा पनि भएन’, उहाँले भन्नुभयो, ‘कतिपयको खेतबारीमा छरेको बिउ बराबरको उत्पादन समेत हुन सकेन ।’

यस्तै लामो समयसम्म पानी नपर्दा खेतबारीमा लगाएको सबै अन्नबाली सुकेको र पशुचौपाया छोडेको बताउनुहुन्छ, थलारा गाँउपालिकाका ९ का जयबहादुर विष्ट ।

भारतमा रोजगारी लागि गएकाहरु पनि कोरोनाका कारण धमाधम रोजगारी छोडेर स्वदेश फर्किने क्रम जारी छ । उनीहरुको रोजगारी पनि खोसिएको छ । यहाँ खडेरीका कारण खेतबारीमा लगाएको अन्नबाली जति सबै सुकेर खेत बाँझै छन् ।

रोजगारी पनि छैन, खेतमा उत्पादन पनि भएको छैन । आफ्नो परिवारलाई कसरी पाल्ने चिन्ताले सताएको भारतबाट फर्किनुभएका थलारा गाँउपालिका वडा नम्बर २ का गोविन्द खाती बताउनुहुन्छ ।

‘भारतमा कोरोनाको डरले हामीहरु सबै गाउँ फर्कियौँ, गाउँमा गए बाँचिएला भन्ने भयो’, उहाँले भन्नुभयो, ‘गाँउमा भएका सबै जग्गा जमिन बाँझै देख्दा कसरी भोकमरीबाट बच्ने भन्ने चिन्ताले सताएको छ ।’

लामो समयसम्म परेको खडेरीका कारण आकाशे पानीको भरमा खेती गर्ने जमिनमा खेती नहुँदा बझाङका विभिन्न भेगका किसान चिन्तामा छन् ।

खडेरीका कारण बालीनाली सुकेको बारे स्थलगत अध्ययन गरिरहेको एक टोलीले सिँचाइको सुविधा नभएका ठाउँहरु खडेरीबाट नराम्ररी प्रभावित भएको पाइएको बताएको छ ।

‘९३ प्रतिशत भन्दा बढी किसानले यो वर्ष हिउँदे बाली देख्न समेत पाएका छैनन्’, सुदूरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजकसमेत रहनुभएका अध्ययन टोलीका सदस्य बलबहादुर रोकायाले भन्नुभयो, ‘कृषिकै भरमा जीवन चलाइरहेका सयौं परिवार यो वर्ष भोकमरीको चपेटामा पर्ने देखिएको छ ।’

१४ हजार परिवारलाई चरम खाद्य संकट

सेती, कालंगा, सुनिगाड लगायतका नदी र खोलाको तटमा रहेका र बाह्रैमास सिँचाइको सुविधा भएका सीमित क्षेत्रबाहेक आकाशे पानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादन ९० प्रतिशतदेखि शतप्रतिशतसम्म घटेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये सिँचाइ सुविधा भएको ३५ प्रतिशत क्षेत्रफलमा लगाइएको बालीमा खडेरीको कुनै असर नदेखिएको भए पनि असिञ्चित जमिनमा लगाइएको बाली पूर्णरुपमा नष्ट भएको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताउनुभयो ।

‘सिँचाइ नभएको ठाउ“मा लगाएको बाली सुकेर पुरै नष्ट भएको छ’ उहाँले भन्नुभयो, ‘पहाडी र उच्च पहाडी भेगका १४ हजार जति घरधुरीलाई चरम खाद्य संकट हुने भएको छ ।’

यस्तै जिल्लाको ४५ प्रतिशत जनसंख्या खडेरीका कारण भोकमरीको चपेटामा पर्ने उहाँको भनाइ छ । खडेरीको मारमा परेको क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्रको रुपमा घोषणा गरेर कुनै न कुनै रुपमा यहाँको समस्या तत्काल सम्बोधन गर्नु पर्ने पनि उहाँले बताउनुभयो ।

‘यहाँ राहत प्याकेज उपलब्ध गराउने, कामका लागि खाद्यान्न कार्यक्रम लागु गर्ने वा अरु केही न केही गर्नै पर्ने अवस्था छ’, उहाँले भन्नुभयो, ‘त्यसो भएन भने स्थिति भयावह हुन सक्छ ।’

खाद्य संकटलाई दीर्घकालीन रुपमा सम्बोधन गर्नका लागि विभिन्न तहका सरकारले सिँचाइ लगायतका कृषि पूर्वाधार निर्माण, आधुनिक प्रविधि विस्तार र उत्पादित वस्तुको बजारीकरणको लागि नीति तथा कार्यक्रम तय गर्नु पर्ने उहाँको भनाइ छ ।

कृषि ज्ञान केन्द्रले यहाँको भोकमरीको समस्यालाई स्थानीय तह, प्रदेश र संघीय सरकारको नीति तथा कार्यक्रममै समेट्नका लागि सुझाव सहित प्रतिवेदन पेश गर्ने तयारी गरिरहेको पनि उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार